शहरी विकासको जिम्मा विवादास्पद ठेकेदारलाई

शहरी विकासको जिम्मा विवादास्पद ठेकेदारलाई

‘दुधको साक्षी बिरालो’ भनेझैँ भौतिक संरचना तथा भवन निर्माणको नेतृत्व गर्ने शहरी विकास मन्त्रालयको जिम्मा ‘ठेकेदार सांसद’ विक्रम पाण्डेले पाएका छन् । पूर्वपञ्चहरुको पार्टी राप्रपाका नेतासमेत रहेका ठेकेदार पाण्डेलाई सो पार्टीको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्री नियुक्त गर्नुभएको हो । 

प्रधानमन्त्री प्रचण्डको गृहजिल्ला चितवन–३ बाट निर्वाचित पाण्डेले भ्रष्टाचार कसूरमा विशेष अदालतमा मुद्दा खेपिरहेका छन् । उनीमाथि विभिन्न सडक आयोजना निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

शहरी विकास मन्त्रालय आफैँ महत्वपूर्ण विकासे मन्त्रालय हो । पाण्डेको कालिका कन्स्ट्रक्सनले थुप्रै जिल्लामा उक्त मन्त्रालयअन्तर्गतको योजना हात पारेको छ । आजदेखि मन्त्री र ठेकेदार दुवै एकै व्यक्ति हुने अवस्था आएको छ । 

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गत ७ पुसमा सांसदको शपथ खाँदा ‘भ्रष्टाचार गर्नु आमाको रगत खाएसरह’ हुने भन्दै भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाएका थिए । शपथको भाषामै आमाको रगत शब्द राखेपछि उनी निकै विवादमा तानिए । तर, अहिले भ्रष्टाचार मुद्दामा मुछिएर विवादित बनेका ठेकेदार पाण्डेलाई मन्त्री बनाएपछि लिङ्गदेनको भनाइ र गराइमा आकाश जमिनको अन्तर देखिएको छ ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले पनि ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुने गरी गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनको नागरिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । लामिछानेमाथि आफूविरुद्ध परेको मुद्दा प्रभावित गर्नकै लागि गृहमन्त्री बनेको आरोप लागेको छ । 

कालिका कन्स्ट्रक्सनका सञ्चालक पाण्डेलाई पनि ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुने गरी शहरी विकास मन्त्री बनाइएपछि प्रधानमन्त्री प्रचण्डको समेत आलोचना हुन थालेको छ ।

टिप्पणीहरू