कुलमानको जिल्लामा बिजुलीका नाङ्गो तार असरल्ल

कुलमानको जिल्लामा बिजुलीका नाङ्गो तार असरल्ल

रामेछापको रामेछाप नगरपालिका वडा नम्बर २ देउरालीमा नेपाल विद्युत प्राधिकरणको लापरबाहीका कारण स्थानीयको ज्यान जोखिममा परेको छ । बिजुली ल्याइएको आधा दशक भइसक्दा पनि प्राधिकरणले पोल उपलब्ध नगराउँदा तार लत्रेर बारीमा गुजुल्टो परेपछि बत्ति बाल्नका लागि स्थानीयले ज्यान जोखिममा पार्नुपरेको छ । 

पोल अभावमा खेतबारीमा नाङ्गा तारहरु लतारिएकाले खेतीपाती गर्न जानसमेत मुश्किल रहेको स्थानीयको गुनासो छ । खेती लगाएको बारीको बीचमा बाँसको टेकोसँगै लतारिएको नाङ्गो तारको तस्बिर सामाजिक सञ्जालमा बाहिरिएपछि प्राधिकरणको लापरवाही पुष्टि भएको छ । 

आफूलाई समाजसेवी भनेर चिनाउने स्थानीय शिवप्रसाद पोखरेल( बैरागी बा)का अनुसार सम्बन्धित निकायमा पटक–पटक गुनासो गर्दा पनि वर्षौँसम्म सुनुवाई नहुँदा ज्यान जोखिममा राखेर बिजुली बाल्नुपर्ने स्थानीयको बाध्यता छ । ‘बिजुली आउने जाने ठेगान छैन । सम्बन्धित निकाय हामीले भनेको कहिले सुन्दैन,’ उनले जनआस्थासँग दुःखेसो पोख्दै भने ।

बस्तीमा मात्र होइन, जङ्गलमा त झन् धेरै नाङ्गो तार रुखमा जेलिएका छन् । ‘आफैँ गएर काट्न भएन, प्रधिकरणले हाम्रा कुरा सुन्दैन’, उनले अगाडि भने । वडाध्यक्ष नीरबहादुर श्रेष्ठले पनि प्राधिकरणले आफ्ना कुरा नसुनेको भन्दै गुनासो गरे । ’हामीले त गुनासो पुर्याउने हो’, उनले भने, ’तर, मन्थली प्राधिकरणले चासो दिएको छैन् । स्थानीयको कुरामा म पनि सहमत छु ।’

यता, मन्थली प्राधिकरणका फोरम्यान कैलाश अधिकारीले पोलको समस्या चाँडै समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘१५÷२० वटा पोल पठाएर बाँसका टेकोलाई केही दिनमा फेर्नेछौं । बाँकी ठाउँमा पोल व्यवस्थापन गरेर पोल फेर्ने काम गर्नेछौ’, उनले भने । 

तर, स्थानीय भने धेरै वर्षसम्म गैरजिम्मेवार बनेको प्राधिकरणले तत्काल समस्या समाधान गर्नेमा आशंका व्यक्त गर्छन् । दुई, चार वटा पोल फेरेर आखाँमा छारो हाल्ने र समस्याको दीर्घकालीन समाधान नहुने हो कि भन्ने उनीहरुको चिन्ता छ ।

स्मरण रहोस्, रामेछाप आफ्नो अघिल्लो कार्यकालमा १८ घण्टे लोडसेडिङ अन्त्य गरेर जनसमर्थन पाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको गृहजिल्ला पनि हो ।

टिप्पणीहरू