सामुदायिक विद्यालयका शिक्षकले छोराछोरी बोर्डिङ पठाए तलब नपाउने

सामुदायिक विद्यालयका शिक्षकले छोराछोरी बोर्डिङ पठाए तलब नपाउने

नुवाकोटको सूर्यगढी गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्यापन गर्ने शिक्षक शिक्षिकाले आफ्ना छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउन नपाउने नियम बनाएको छ । 

सरकारी तलब र सुविधा लिने शिक्षकहरुले आगामी शैक्षिक सत्रदेखि विद्यालय तहमा अध्ययनरत आफ्ना सन्ततिलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने गाउँपालिकाको निर्णय छ । शिक्षकहरुले आफ्ना सन्तानलाई अन्य विद्यालयमा लगेर पढाउने र सामुदायिकमा पढ्ने विद्यार्थीको शिक्षामा खासै चासो नदिने गुनासो बढेकाले यो निर्णय गर्नुपरेको गाउँपालिका प्रमुख सन्तबहादुर घलेले बताए । 

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर घट्दै गएको उनको भनाइ छ । ‘सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कँदो छ । जनताले तिरेको करबाट तलब खाएका शिक्षकले विद्यार्थी पढाउँदै पढाउँदैनन्’, उनले भने,‘अभिभावकहरुको पनि धेरै गुनासो आयो । आफ्ना छोराछोरी संस्थागतमा राखेर अर्काको छोराछोरीको भविष्य बिगार्न पाइएन् नि !’

गाउँपालिकाको निर्णय नटेर्ने शिक्षकको तलबभत्ता र सेवासुविधा रोक्का गरिने चेतावनीसमेत दिइएको छ । साथै, यो व्यवस्था क्रमिक रुपमा जनप्रतिनिधि र अन्य कर्मचारीमा पनि लागु गरिने गाउँपालिकाको भनाइ छ ।

टिप्पणीहरू