म्यानपावर चलाउनेलाई श्रम मन्त्रालय

म्यानपावर चलाउनेलाई श्रम मन्त्रालय

टेलिभिजन र सामाजिक सञ्जालमा सुशासनका गफ गरेर राजनीतिक उचाई बनाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सत्तामा पुगेसँगै क्रमश: वास्तविक स्वरुपमा आउन थालेको छ । आफ्नो नागरिकता विवाद अदालतमा विचाराधीन रहेकै बेला ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुने गरी सभापति रवि लामिछाने गृहमन्त्री बनेर सिंहदरबार छिरेपछि शंकाको घेरमा परेको रास्वपा मन्त्री चयनसम्म आइपुग्दा थप विवादित भएको छ । लामिछानेले पार्टीमा सल्लाह नै नगरी एकलौटीरुपमा मेनपावर व्यवसायीलाई श्रम मन्त्री बनाएकोमा विवाद चर्किएको बताइन्छ ।  

निर्वाचनको केही महिनाअघि असोजमा गठित लामिछानेको पार्टीले अप्रत्यासित सफलता पाएपनि सरकारमा जाने जनमत भने होइन । तर,सो पार्टीले सरकारमा जाने निर्णय गर्यो । सडकमा छँदा सुशासनका पक्षमा चर्का नारा लगाउने लामिछाने विभिन्न देशका उदाहरण दिएर विज्ञलाई मन्त्री बनाउन पर्ने तर्क गर्थे । तर,गृह-प्रशासनको कुनै अनुभव नभएका र स्नातकसमेत नगरेका लामिछाने आफैँ गृहमन्त्री मात्र बनेनन्,उनका मन्त्री र सल्लाहकारहरु समेत विषय विज्ञ छैनन् । 

"समानुपातिकबाट तानिएका अर्याललाई क्याबिनेट मन्त्री बनाउँदा प्रत्यक्ष चुनाव जितेकी र विषय विज्ञसमेत रहेकी कार्कीलाई राज्यमन्त्रीमा थनक्याइएकोमा घन्टीका मतदाताहरु सामाजिक सञ्जालमा आगो भएका छन् ।"

आफ्नालागि गठबन्धनमा बार्गेनिङ्ग गरेर सलामी खाने मन्त्रालय हात पारेका लामिछानेले मेनपावर व्यवसायीलाई श्रम मन्त्री बनाएका हुन् । आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी पाएका रास्वपाका नेता डोलप्रसाद अर्याल सृष्टि ओभरसिज प्रालिका सञ्चालक हुन् ।

 

यसअघि पनि गृहमन्त्री लामिछानेले एकजना म्यानपावर व्यवसायीलाई आफ्नो सुरक्षा सल्लाहकार राखेको भन्दै उनको पार्टीकै मान्छेहरुले चर्को असन्तुष्टी जनाएका थिए । यता,एमालेको भागमा परेको स्वास्थ्य मन्त्रालयमा डा. तोसिमा कार्कीलाई राज्यमन्त्री बनाएर पठाउने लामिछानेको निर्णयलाई पनि धेरैले अचम्म मानेका छन् । समानुपातिकबाट तानिएका अर्याललाई क्याबिनेट मन्त्री बनाउँदा प्रत्यक्ष चुनाव जितेकी र विषय विज्ञसमेत रहेकी कार्कीलाई राज्यमन्त्रीमा थनक्याइएकोमा घन्टीका मतदाताहरु सामाजिक सञ्जालमा आगो भएका छन् ।

टिप्पणीहरू