अन्तरआत्मादेखि चाहे बन्छ मधेश

अन्तरआत्मादेखि चाहे बन्छ मधेश

-सन्तोष बराइली

मधेशको मुध्दामाथि टेकेर केन्द्र सरकारमा पटक पटक सहभागी हुँदै आएका मधेशवादी दलहरुमध्ये एउटाले मधेश प्रदेश सरकारको नेतृत्व गरिसकेको छ । तर समग्र मधेशको विकास गर्ने सामर्थ्य हुँदाहुँदै पनि अघिल्लो मधेश प्रदेश सरकार पाँच वर्षको अवधिमा चुकेको छ । 

झण्डै ५५ लाख जनसंख्या रहेको प्रदेशमा गरिबी २८ प्रतिशत रहेको बताइन्छ । त्यसैगरी सर्वसाधारण ४१ प्रतिशत मात्रै साक्षर छन् । अझै पनि विद्युतमा सर्वसाधारणको पहुँच ५९ प्रतिशत मात्र छ । खानेपानीमा पहुँच ९२ प्रतिशतको पुगेको देखिन्छ । 

विकासका पर्याप्त पूर्वाधार र प्रचुर सम्भावना हुँदाहुँदै पनि मधेश अन्य प्रदेशभन्दा किन पछाडि पर्यो ? किसानका समस्या किन उस्तै देखियो ? बेरोजगारी झन किन बढ्यो ? वैदेशिक रोजगारीमा जानेको संख्या घट्नुको सट्टा किन बढ्यो ? यी प्रश्न अझै अनुत्तरित छन् ।                                                   

तीव्र आर्थिक विकासका लागि प्रशस्त उद्योग खोलिनुपर्छ र खोलिएका उद्योगले फस्टाउने अवसर पाउनुपर्ने विकासको मान्यता हो । सरकारले औपचारिक रूपमा औद्योगिक करिडोर घोषणा नगर्दै मुलुकको सबैभन्दा ठूलो बारा–पर्सा औद्योगिक करिडोर मधेशमा थियो । त्यहाँ ठूला,साना गरी १२ सय उद्योग सञ्चालनमा थिए र एक लाख बढीले रोजगारी पाएका थिए । तीमध्ये अधिकांश मधेशका सर्वसाधारण थिए ।

तर दुःखको कुरा,मधेश आन्दोलनको नाममा विभिन्न कालखण्डमा हुँदै आएका बन्द,हड्ताल र नाकाबन्दीले उक्त करिडोरका उद्योग, कलकारखाना फस्टाउन सकेनन् । खुलेका उद्योग नफस्टाएपछि नयाँ खुल्ने कुरै भएन । मधेशमा घोषित एकमात्र औद्योगिक क्षेत्र सप्तरीको राजविराजमा छ । तर,त्यहाँ मुश्किलले एउटा मात्र उद्योग सञ्चालनमा छ ।

उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ आयात गर्न पूर्वपश्चिम राजमार्गले मधेशका सबैजसो जिल्ला छोएको छ । निर्माणाधीन दक्षिण–उत्तर निजगढ–काठमाडौं फास्टट्र्याकअन्तर्गत ७६.२ किलोमिटर सडकको माध्यमबाट मधेश संघीय राजधानीसँग जोडिँदैछ । निर्माणाधीन हुलाकी राजमार्ग पनि मधेशका लागि बरदान सावित हुने देखिँदै छ ।

रेलमार्गबाट भारतसँग जोडिएको एक्लो प्रदेश मधेश मात्रै हो । राजविराज,जनकपुर र सिमरामा विमानस्थल छन् । निजगढमा मुलुककै दोश्रो अन्तर्राष्टृय विमानस्थल निर्माण गर्ने संघीय सरकारको महत्वाकांक्षी योजना छ । उद्योगधन्दा फस्टाउन आवश्यक सबै सुविधा हुँदाहुँदै पनि खुलेका उद्योग फस्टाउने र नयाँ उद्योग खुल्ने वातावरण बनाइएन ।

पर्यटनका लागि पनि मधेश उम्दा छ । विविधखालका भाषा र संस्कृति छन् । सीताको जन्मभूमि जनकपुरधाम,धनुषाधाम,गढिमाई, सिम्रौनगढ,सिरहाको सहलेस फूलबारी,सर्लाहीको नाढीमन, सप्तरीको छिन्नमस्तालाई धार्मिक पर्यटनका रूपमा विकास गर्नबाट प्रदेश सरकार चुकेको छ । त्यसमाथि पर्सा वन्यजन्तु आरक्षण केन्द्र र चितवन राष्ट्रिय निकुञ्जको केही भू–भाग पनि मधेशमा पर्छ । त्यसैले मधेशलाई पर्यटन विकासको दृष्टिकोणले प्रचुर सम्भावना भएको प्रदेश मान्न सकिन्छ । धार्मिक पर्यटनले प्रदेशको अनुहार फेरिन सक्थ्यो । मधेशलाई छिमेकी देश भारतका धार्मिक पर्यटकको प्रमुख गन्तव्यस्थल बनाउन सकिन्थ्यो । तर त्यसतर्फ सामान्य पाइलासमेत चालेको पाइएन । 

टिप्पणीहरू