विपक्षी मोर्चा बनाउन लागेको कांग्रेस प्रधानमन्त्री कुर्दै

विपक्षी मोर्चा बनाउन लागेको कांग्रेस प्रधानमन्त्री कुर्दै

प्रमुख विपक्षी दल नेपाली काँग्रेसले एकीकृत समाजवादीलगायत सत्ताबाहिर रहेका दलहरुसँग मिलेर सभामुखमा उम्मेदवारी दिने भएको छ । सत्ता गठबन्धनको साथ नहुने संकेत मिलेपछि आज बसेको पदाधिकारी बैठकले प्रतिपक्ष मोर्चा बनाएर जाने सम्भावनाबारे छलफल गरेको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सम्बन्ध सुधारको प्रयासमा रहेको काँग्रेसले सहमतिकै आधारमा राष्ट्रपति र सभामुखमध्ये एक पद आफूले पाउने आश गरेको थियो । तर,सत्ता गठबन्धनले एमालेका देवराज घिमिरेलाई सभामुख बनाउने तयारी गरेपछि विपक्षी मोर्चाको तयारीमा कांग्रेस लागेको हो । 

यसबारे आजको पदाधिकारी बैठकमा छलफल भएको कांग्रेसका एक नेताले बताए । उनका अनुसार एकीकृत समाजवादी,जसपा, लोसपा,नागरिक उन्मुक्तिलगायतका पार्टीहरुसँग छलफल गरेर राष्ट्रपति, उपराष्ट्रपति,सभामुख र उपसभामुख पद भागबण्डा गर्नेबारे छलफल भएको छ । 

सभामुखको मनोनयन दर्ताको समय आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ । त्यसनिम्ति प्रतिपक्षमा रहेका दलहरुसँग कुराकानी गरेर सभामुख र उपसभामुखमा तालमेल गरेर उम्मेदवार उठाउने ती नेताले बताए । त्यसै कारण बिहानको बैठकले सभामुखको उम्मेदवार तय गरेको छैन । 

यता,प्रवक्ता डा. प्रकाशशरण महतले भने प्रधानमन्त्री प्रचण्डले समझदारी कायम गरेर अघि बढ्न सकिने भनेकाले उम्मेदवारबारे निर्णय नगरेको बताए । उनले दिउँसो २ बजेसम्म प्रधानमन्त्रीलाई कुर्ने र त्यसपछि प्रतिपक्षमा रहेका अरु दलहरुसँग छलफल गरेर आवश्यक निर्णय लिने बताए। 

बताइएअनुसार संसदको अंकगणित हेरेर कांग्रेसले सभामुखको उम्मेदवारबारे निर्णय गर्नेछ । कांग्रेसले दुवै पदमा उम्मेदवारी नदिएर अरु साना दललाई अघि सार्ने सम्भावनासमेत छ ।

टिप्पणीहरू