तीन देशका राजदूत तीनतिर

नेपालका लागि विभिन्न मुलुकका राजदूतले आज पनि प्रधानमन्त्री तथा मन्त्रीहरुसँग भेटघाट गरेका छन् । सोही क्रममा हालै ओहोदाको प्रमाणपत्र बुझाउनुभएका चिनियाँ राजदूत आज शिष्टाचार भेटवार्ताको निम्ति सिंहदरबार पुग्नुभएको छ । 

राजदूत छेन सोङले आज राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेट गर्नुभयो । उहाँहरुबीच अध्यक्ष तिमिल्सिनाको सिंहदरबारस्थित संसद सचिवालयमा रहेको कार्यकक्षमा बिहान ११ बजे भेटघाट भएको थियो ।

आजै प्रधानमन्त्री निवास बालुवाटारमा बेलायती राजदूत निकोला पोली पुग्नुभएको छ । उहाँ प्रधानमन्त्रीसँग भेट गर्न बिहान पौने १२ बजेको समयमा बालुवाटार प्रवेश गर्नुभएको हो । प्रधानमन्त्री र राजदूत पोलीबीच झण्डै एक घण्टा छलफल भएको थियो ।

उता नवनियुक्त परराष्ट्रमन्त्री डा. विमला राई (पौडेल) सँग नेपालका लागि कतारका राजदूतले भेट गर्नुभएको छ । राजदूत युसुफ विन मोहम्मद अल हैल मन्त्री राईसँग शिष्टाचार भेटवार्ताको निम्ति १२ बजे सिंहदरबार पुग्नुभएको हो । उहाँहरुबीच ४५ मीनेट दुई मुलुकबीचको सम्बन्ध र आपसी हितका बारेमा कुराकानी भएको मन्त्रालय स्रोतको भनाइ छ ।

टिप्पणीहरू