घरघरमै पुगेर रास्कोटको सित्तैमा स्वास्थ्य सेवा

घरघरमै पुगेर रास्कोटको सित्तैमा स्वास्थ्य सेवा

कालिकोटको रास्कोट नगरपालिकाले आफ्नो पालिकाभित्रका प्रत्येक घरमा पुगेर निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

नगरपालिकाले ‘मेयर हेल्थकेयर’ कार्यक्रममार्फत ‘नगर भरोसा होस्,’ ‘नगरमाथि गाउँघरमा स्वास्थकर्मी साथी’ नारासहित घरदैलोमै स्वास्थ्य सेवा दिन थालेको हो । नगर प्रमुख धर्मराज शाहीले गत साउनदेखि गाउँका स्थानीयबासीहरुको घरदैलोमै पुगेर निःशुल्क स्वास्थ्य सेवालगायत सेवा प्रदान गर्ने गरेको बताए । 

उनले नगरपालिकाले ‘मेयर हेल्थकेयर’ कार्यक्रममार्फत पालिकाभित्रका गर्भवतीको निःशुल्क स्वास्थ्य जाँच, गाउँघरमै पुगेर वृद्धाभत्ता, निःशुल्क स्वास्थ्य सेवा र ज्येष्ठ नागरिक तथा दम, मधुमेह, उच्च रक्तचापका बिरामीका लागि निःशुल्क रुपमा औषधी वितरण गर्दै आएको जानकारी गराए । 

साथै, पालिकाभित्रका सुत्केरी र गर्भवतीको मोबाइलमा एसएमएस एर्लट सेवा प्रदान गरी घरदैलोमै पुगेर एकीकृत सेवा प्रवाह गर्ने गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाद्धारा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिका साथै आर्थिक अवस्था कमजोर भएका एंव विपन्न परिवारका मानिसहरुको पनि स्वास्थ्य बीमा गरिएको पनि मेयरको भनाई छ ।

‘मेयर हेल्थकेयर’ कार्यक्रममार्फत हालसम्म ६ वटा वडाका हजारभन्दा बढी नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गरिसकेका छौँ,’ उनले भने,‘नगरपालिकाले घुम्ती सेवामार्फत एकीकृत निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ ।’

मेयर शाहीले यस कार्यक्रमअन्तर्गत स्वास्थ्य, आयुर्वेद, पञ्जीकरणलगायतका अन्य काममा नागरिकको घरमै पुगेर सेवा दिने गरेको र प्रत्येक महिनाको एक दिन नगरपालिकाका ९ वटै वडामा स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेको जानकारी गराए ।

टिप्पणीहरू