नेपाल आएका श्रीलंकन मन्त्रीमाथि भिआइपीमा दुर्व्यवहार

नेपाल आएका श्रीलंकन मन्त्रीमाथि भिआइपीमा दुर्व्यवहार

मित्रराष्ट्र श्रीलंकाका एक बहालवाला मन्त्रीलाई त्रिभुवन विमानस्थलको भिआइपी कक्षमा प्रवेश गर्न रोक लगाइएपछि यहाँस्थित श्रीलंकन दूतावासले आपत्ति जनाएको छ । पूर्वजानकारी दिँदासमेत आफ्ना मन्त्रीलाई विशिष्ट कक्षमा प्रवेश नदिएको भन्दै स्वागतका लागि विमानस्थलमा पुगेका दूतावासका कर्मचारीहरु रिसाएका हुन् ।  

श्रीलंकाका वाणिज्य, आपूर्ति तथा कृषि मन्त्री कचाकादुगे नलिन फर्नान्डो दक्षिण एशियाली कृषि सम्मेलनमा भाग लिन श्रीलंकन एयरको विमानबाट आज दिउँसो साढे १२ बजे विमानस्थल ओर्लिएका थिए । त्यसअघि नै  उनको स्वागतका लागि दूतावासका सैनिक सहचारी मदुसा गुनाशेखारासहितको टोली विमानस्थलको विशिष्ट कक्षमा प्रतिक्षारत थियो । 

तर, त्यहाँ सुरक्षार्थ खटिएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुमन न्यौपानेले विशिष्ट कक्ष प्रवेश गर्न रोकेपछि केहीबेर बिबादसमेत भएको बताइन्छ । आफ्ना मन्त्रीलाई भिआइपी कक्ष प्रयोग गर्न रोक लगाएपछि असन्तुष्ट दूतावासको टोली र प्रहरीबीच चर्काचर्की भएको विमानस्थल स्रोतले बताएको छ । 

विशिष्ट व्यक्तिलाई त्यसरी रोक्न नमिल्ने भन्दै मदुसाले असन्तुष्टि जनाएपछि इन्स्पेक्टर न्यौपानेले आफूलाई पूर्वजानकारी नभएको र कुनै औपचारिक पत्र पनि नपाएको बताएका थिए । 

तर,श्रीलंकन दूतावासले भने टर्मिनल ड्युटी अधिकृतलाई पत्रमार्फत जानकारी गराएको र परराष्ट्र मन्त्रालयमार्फत प्रतिक्रिया जनाउने बताएको छ । कन्सुलर बिएन डिल्मिनीसहितको टोली साढे १२ बजे नै मन्त्रीको स्वागतका लागि विमानस्थलको बिशिस्ट  कक्षमा पत्रसहित पुगेको थियो ।  

सम्मेलनमा भाग लिन ५ दिनका लागि नेपाल आएका फर्ना माघ ९ गते फर्कने कार्यक्रम छ ।

टिप्पणीहरू