पर्साका बालबालिकालाई फाइजर खोप लगाईंदै

पर्साका बालबालिकालाई फाइजर खोप लगाईंदै

पर्सामा ५ वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाइने भएको छ । जिल्लाका १४ वटै पालिकामा फाइजर खोप लगाउने तयारी गरिएको बताइएको छ ।

जिल्ला खोप समन्वय समिति पर्साले आगामी सोमबार र मंगलबार सबै पालिकाका बालबालिकालाई फाइजर खोप लगाउने अभियान सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ । उक्त खोप लगाएका बालबालिकामा कोभिड–१९ को संक्रमणबाट हुने जटिलता कम देखिने भएकाले खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय, पर्साले जनाएको छ । 

खोप अभियान सञ्चालनका लागि सबै पालिकामा समन्वय गर्ने, जिल्लास्थित शिक्षक महासंघ रेडक्रस, प्याब्सन, एनप्याब्सन र अभिभावकसँग समन्वय गर्ने निर्णय पनि बैठकले गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । पालिकाका सामुदायिक विद्यालयहरुमा खोप केन्द्र राखेर खोप अभियान सञ्चालन गर्ने निर्णय भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका कार्यालय प्रमुख नवलकिशोर साहले बताए । 

उनका अनुसार जिल्लामा १८ हजार ५ सय बालबालिकाले दोस्रो मात्रा खोप लिन बाँकी छ । साथै, ४ वर्ष पूरा गरी पाँच वर्ष लागेका ४ हजार बालबालिका पनि यसैबीचमा थपेको उनको अनुमान छ । ‘हाल २२ हजार डोज फाइजर खोप हामीसँग छ,’ उनले भने,‘त्यसलाई १४ वटै पालिकामा वितरण गछौँ ।’

पर्साको कालिकामाई, पकहाँमैनपुर, जिराभवानी गाउँपालिका, पर्सागढी नगरपालिकालगायत कतिपय पालिकामा अधिंकाश बालबालिकाले खोप लगाएपनि सिस्टममा अपडेट नगर्दा समस्या परेको साहको भनाइ छ । उनले कतिपय पालिकामा रेडक्रस, बागमती सेवा समाज, बिजामले पनि खोप अभियान सञ्चालन गरेको तर अनलाइनबाट सिस्टममा इन्ट्री नगर्ने हुँदा समस्या परेको गुनासो गरे । 

कार्यालय प्रमुख साहले समयमै पालिकामा आवश्यक खोप पठाउन कार्यालय तयारी अवस्थामा रहेको बताउँदै स्वास्थ्यकर्मी परिचालनको योजना बनाउन पालिकाका स्वास्थ्य संयोजकलाईसमेत आग्रह गरे । उनले पालिकाका कुनै पनि बालबालिकालाई खोपबाट वञ्चित हुन नदिने प्रतिबद्धता जनाए ।

टिप्पणीहरू