‘उच्च अदालत पाटनका सबै कोठा पारदर्शी’

‘उच्च अदालत पाटनका सबै कोठा पारदर्शी’

उच्च अदालत पाटनमा हिजो दिउँसो भएको भनिएको छलफललाई लिएर प्रकाशित समाचारप्रति प्रतिक्रिया जनाउँदै अदालत प्रशासनले त्यसबेला कुनै ‘अन्यथा’ नभएको बताएको छ । चेक अनादरसम्बन्धी मुद्दाकी प्रतिवादी महिला र उनका कानुन व्यवसायीसहितको छलफललाई असन्तुष्ट पक्षले अतिरञ्जित रुपमा बाहिर लगेको उसको दावी छ ।

चार महिनाअघि १३ लाख रुपैयाँ धरौटीमा छुटेकी प्रतिवादी जुली नेपाली,अदालतको लेखा शाखाले दिएको रसिद र त्यसको आधिकारिकताको विषयमा कुनै अन्यथा छलफल नभएको पनि अदालत प्रशासनले बतायो । 

२ करोड रुपैयाँको चार वटा चेक अनादरवापत प्रहरी हिरासतमा पुगेकी जुलीले बुझाएको १३ लाख रुपैयाँ धरौटीको बारेमा कुनै छलफल नै नभएको अदालतको भनाइ छ । 
जुलीलाई साक्षी बकपत्र गराउने क्रममा हिजो अदालतमा भएको छलफललाई फरक ढंगले प्रचार गर्नेको नियतमाथि नै शंका गर्नुपर्ने उनीहरुको भनाइ छ । उच्च अदालतकी उपरजिष्ट्रार अमृताकुमारी शर्माले हिजै उक्त विषयमा सामान्य छलफल मात्रै भएको र सो कुरा तत्कालै सल्टिएको बताउनुभएको थियो । उहाँले ‘दावी गरिएजस्तो कुनै बबाल नभएको तर एउटा पुरानो इस्यु सेटल गर्न छलफल भएको’ प्रतिक्रिया दिनुभएको थियो ।

आज जनआस्थाले राखेको जिज्ञासामा रजिष्ट्रार ठगिन्द्र कट्टेलले भन्नुभयो,‘हामी पारदर्शी छौं । उच्च अदालत पाटनको चोटा कोठा सबै पारदर्शी छ । सेवाग्राहीको संवेदनशीलता र मर्काको समाधानप्रति अदालत प्रशासन दत्तचित्त र संवेदनशील छ । यही नै हाम्रो कर्तव्य र दायित्व हो ।’ आफूहरुले सर्वसाधारणको भलो चिताएर गरेका नियमित प्रशासनिक कार्यलाई अरुले उछाल्नु र उछाल्न खोज्नुलाई उहाँले ‘स्वार्थप्रेरित’ प्रयास भन्नुभएको छ ।

टिप्पणीहरू