ब्यारेक बेचेर खाने र सिमानालाई "स्वर्ग" बनाउने फौजी हाकिमहरु २४ घण्टामै हेडक्वार्टर तानिए

ब्यारेक बेचेर खाने र सिमानालाई "स्वर्ग" बनाउने फौजी हाकिमहरु २४ घण्टामै हेडक्वार्टर तानिए

बाँकेको जानकी गाउँपालिका-१ स्थित बढैया बिओपीको पुरानो भवन सुटुक्क बेच्ने सशस्त्र प्रहरीका एसपी जनकराज बस्नेत छानबिनका लागि हेडक्वार्टर तानिएका छन् । आज जनआस्था साप्ताहिकमा 'ब्यारेकसमेत बेचेर खाने यी बहादुर' शीर्षकमा समाचार प्रकाशित भएलगत्तै सशस्त्र हेडक्वार्टरले बस्नेतसहित बाँके जिल्लाको उठ्ती पुठ्ती टीमलाई सोधपुछका लागि २४ घण्टाभित्र हाजिर हुन  बोलाएको हो । 

सशस्त्र मुख्यालयले उनीसहित पाँच जनालाई भोलि ५ गते कार्यालय समयभित्र हल्चोक आइपुग्न निर्देशन दिएको छ । सोधपुछका लागि बोलाइनेमा बस्नेतसँगै जमुनाहा बिओपीमा कार्यरत इन्स्पेक्टर रोशन जोशी,उनले पैसा बटुल्न खटाएका असईहरु दिपक बोहोरा,तारासिंह भाट र शीतल सोनी छन् । पाँचै जनालाई मुख्यालयस्थित सीमा सुरक्षा विभागमा प्रतिवेदन बुझाउने गरी उपस्थित गराउन नम्बर ३० गण हेडक्वार्टर बागेश्वरी,बाँकेलाई मुख्यालयले आज पत्र पठाएको हो । 

बस्नेतले आफू मातहतका सिपाही प्रयोग गरेर नेपालगन्जमा उठाउ धन्दा चलाइरहेको भिडियोसहितको प्रमाण सशस्त्र हेडक्वार्टरमा पहिले नै पुगेको थियो । तर,ब्यारेक नै बेचेर खाएको पत्तो नपाएको सशस्त्र नेतृत्वलाई जनआस्थाको समाचारले बल्ल तातो लागेको हो । जनआस्थाको समाचारमा जिल्ला इन्चार्ज  एसपी बस्नेतसँगै इन्स्पेक्टर भानबहादुर कार्की र बिष्णु मुसिखोलाले मिलेर नयाँ भवन निर्माण भएपछि गोप्य तवरबाट पुरानो भवन बेचेको उल्लेख छ ।

उठाउ धन्दालाई 'दूधभात' जत्तिकै मान्ने एसपी बस्नेतले असई तिर्थ भाट र गोविन्द शुक्ला बिहारीमार्फत नेपालगन्जको हड्डीचोकबाट कपडा तस्करहरुसँग नियमित पैसा उठाउने गरेको र त्यसको भिडियो हेडक्वार्टर पुगेको बताइन्छ । बताइएअनुसार त्यसका लागि उनले दुई असईलाई मासिक १५ लाखको ठेक्का लगाएका थिए । बाहिरबाट सेटिङ मिलाउन एकजना स्थानीय पत्रकार सौरभ गिरीलाई प्रयोग गरेको पनि पत्रकार महासंघ स्रोतले बताएको छ । 
  

बस्नेतले शहीद परिवारका नाममा हाकिमहरुलाई ब्ल्याकमेल गरेर निर्वाध ठगीधन्दा चलाइरहेको सशस्त्र स्रोतको भनाई छ । उनका बाबु धनबहादुर बस्नेत माओवादी युद्धका बेला दाङगको सतबरियामा मारिएका थिए । त्यसपछि शहीद परिवारको नाममा सहविर थापाको पालामा सशस्त्रमा छिराइएका उनको अनेक काण्ड बाहिर आएपछि यसअघि पनि हेडक्वार्टर बोलाएर चेतावनी दिइएको थियो । तर,उनकी आमा रुवावासी गर्दै आइजीपीको शरण पर्ने गरेकाले कारवाहीबाट बच्दै आएका हुन् ।  

सशस्त्रको छानविनमा परेका इन्स्पेक्टर रोशन जोशी पनि उस्तै विवादित प्रहरी अधिकृत हुन् । उठाउ धन्दामा पोख्त उनी अर्काको घरवार बिगार्ने काण्डमा समेत मुछिएका थिए । बुटवलको एउटा धनाढ्य परिवारकी बुहारीसँग सम्बन्ध बनाएर उनको इज्जत र लाखौँ रकम लुटी भागेको भन्दै उनीविरुद्ध हेडक्वार्टरमा परेको उजुरी जुजु दरवार (आरजू र मन्जु) को राजनीतिक संरक्षणमा त्यसै ढुस पारिएको स्रोत दावी गर्छ । 

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उनका भतिजा प्रकाश देउवाको जोडबलमा जोशी कैलाली बिओपीबाट नीतिविपरित अर्को मालदार मानिने जमुनाहमा ५ महिनाअगाडि ठाडै सरुवा भएका थिए । कैलालीको बिओपीमा दुई वर्ष काम गरेका उनी जमुनाह आएको पाँच महिनामै अन्तत: छानविनमा परेका छन् । 

आफू बालुवाटारको मान्छे भन्दै हाकिमहरुलाई गन्दै नगन्ने र मनलाग्दी गर्दासमेत प्रकाश देउवाको आडभरोसाले जोगिँदै आएका उनलाई हेडक्वार्टरले सोधपुछमा झिकाएपछि इमान्दार सिपाहीहरु भने हर्षित भएको बताइन्छ ।

टिप्पणीहरू