'हत्यारा सांसद'लाई राखेर सदन चलाएको भन्दै काँग्रेसको आपत्ति

'हत्यारा सांसद'लाई राखेर सदन चलाएको भन्दै काँग्रेसको आपत्ति

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद बैठकमा हत्या अभियोग लागेका सांसद सहभागी भएको भन्दै आपत्ति जनाएका छन् ।  प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै उनले सभामुख चयनको निर्वाचन प्रक्रियाअघि बढिरहेका बेला हत्या अभियोग लागेका सांसदले मतदान गर्न पाउने कि नपाउने भन्ने विषय निर्क्योल गरिनुपर्ने बताए । 

‘सभामुखमा निर्वाचन चलिरहँदा हत्याको अभियोग लागिरहेका सांसद पनि यहीँ हुनुहुन्छ भन्ने सुन्नमा आएको छ’, सांसद खतिवडाले भने, ‘म गृहमन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छु, हामी उहाँ यहाँ हुनुहुन्छ वा हुँदैन भन्ने चिन्दैनौं । यदी हुनुहुन्छ भने, उहाँको मतदान प्रक्रियामा भाग लिन पाउने नपाउने भन्ने निर्णय गरेर मात्र सभा सञ्चालन गरियोस् भन्ने माग गर्न चाहन्छु ।’

कांग्रेस सांसद खतिवडाले नाम उल्लेख नगरे पनि एमालेका सांसद लक्ष्मी महतो कोइरी प्रतिनिधिसभा बैठकमा सहभागी भएको भन्दै उनले आपत्ति जनाएका हुन् । महतोमाथि मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको अभियोग छ । फरार अभियुक्तको सूचीमा रहेका उनी यसअघिका संसद बैठकमा पनि सहभागी भएका थिए ।

जारी बैठकले सभामुख चयन गर्दैछ । सभामुख पदमा सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे र काँग्रेसका तर्फबाट ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको छ ।

टिप्पणीहरू