रुपन्देहीमा पनि ‘टाइम कार्ड’

रुपन्देहीमा पनि ‘टाइम कार्ड’

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आजदेखि सेवाग्राहीका लागि ‘टाइम कार्ड’ लागू गरेको छ । छिटो, छरितो र प्रभावकारी सेवा प्रवाह गर्न प्रशासन कार्यालयले विभिन्न चार वटा सेवामा त्यस्तो कार्ड शुरु गरेको बताइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले प्रशासनबाट उपलब्ध हुने सेवा सहज बनाउन र ढिलासुस्तीका प्रक्रिया हटाउन टाइम कार्ड लागू गरिएको बताए । 

‘हामीले नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र तथा ई–पासपोर्टमा टाइम कार्ड लागू गरेका छौँ । यसअघि पनि बडापत्रमा लेखिएअनुसार सोही दिन नै सेवा दिइरहेका थियौँ’, उनले भने, ’तर, यसले कति घण्टा प्रतिक्षा गर्नुपर्ने भन्नेमा सेवाग्राही अन्योलमा परेकाले टाइम कार्ड लागू गरेका हौँ ।’

उक्त कार्डको लागूपश्चात् कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई समय नै तोकेर सेवा दिने तयारी गरिएको सहायक सिडिओ अर्यालले जानकारी दिए । टाइम कार्ड लागू भएपछि सेवाग्राहीले एउटा निश्चित समय पाउने र सो समयसम्म उसले अन्य काम पनि भ्याउन सक्ने उनको भनाइ छ ।

टाइम कार्ड लागू भएपछि अब कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई समयसीमासहितको एउटा टोकन वितरण गरिन्छ । जसमा सेवाग्राहीले सेवा पाउने समय र कोठा नम्बर लेखिएको हुन्छ । साथै, नयाँ नागरिकताको हकमा प्रमाण पुर्याएर १२ बजेभित्र पेस भएका निवेदन १ बजेभित्र र दिउँसो १२ देखि ३ बजेसम्म पेस गर्ने निवेदनमा आवश्यक प्रक्रिया पुर्याएर अपरान्ह ४ बजेभित्र नागरिकता वितरण गरिने छ । 

नागरिकता प्रतिलिपिको हकमा प्रमाण पुर्याएर पेस भएका निवेदकलाई अभिलेख भिडेको एक घण्टाभित्र प्रतिलिपि दिइने छ भने अनलाइन फारम भरेर राष्ट्रिय परिचयपत्रका लागि आएका निवेदकले पनि एक घण्टाभित्रै सेवा पाउने छन् ।

त्यस्तै, ई–पासपोर्टका लागि आउने सेवाग्राहीले प्रि–इनरोलमेन्टको फारम भरेर आएमा तोकिएकै दिन र समयमै इनरोलमेन्ट हुने र केन्द्रबाट प्राप्त भएका ई–पासपोर्ट टोकन प्रणालीअनुसार सोही दिन समय तोकेर वितरण गरिने छ । सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले गर्भवती महिला, अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई टाइम कार्डको आवश्यकता नपर्ने बताए ।
 

उनले यस्ता सेवाग्राहीको हकमा सेवाग्राहीले सोझै फाँटमा तोकिएका कर्मचारीलाई भेटेर सेवा लिन सक्ने स्पष्ट पारे । साथै, कार्यालयले दैनिक एक सयभन्दा बढी नयाँ नागरिकता, ८० भन्दाबढी प्रतिलिपि, दुई सयभन्दा बढी राष्ट्रिय परिचयपत्र र दुई सय ५० भन्दा बढी ई–पासपोर्ट वितरण गर्ने गरेको जानकारी पनि दिइएको छ ।

टिप्पणीहरू