चुहावट कम भएपछि प्राधिकरणका कर्मचारी खुशी

चुहावट कम भएपछि प्राधिकरणका कर्मचारी खुशी

नेपाल विद्युत प्राधिकरणले वितरणतर्फको विद्युत चुहावट घटेको जानकारी दिएको छ । प्राधिकरणले चालु आर्थिक वर्ष २०७९–८० को पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत चुहावटलाई घटाएर सात दशमलव ४९ प्रतिशतमा झारेको दाबी गरिएको छ । 

नियमित रुपमा विद्युत आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएका अभियानबाट प्राधिकरणले गत वर्षसम्मको वितरणतर्फको सञ्चित चुहावटको तुलनामा यो वर्ष एक दशमलव ७४ प्रतिशतले घटाएको हो । गत वर्ष मंसिरसम्मको वितरणतर्फको विद्युत चुहावट ९ दशमलव २३ प्रतिशत थियो । 

चालू आर्थिक वर्षको मंसिरसम्ममा वितरण प्रणालीमा चार अर्ब १४ करोड ७५ लाख युनिट प्राप्त भएकोमा तीन अर्ब ८३ करोड ६७ लाख युनिट विद्युत बिक्री भएको छ । ३१ करोड सात लाख ७९ हजार युनिट विद्युत चुहावट भएको देखिन्छ । 

मंसिरसम्म प्रसारण लाइनतर्फको चुहावट चार दशमलव ५६ प्रतिशत कायम छ । प्रसारण र वितरणतर्फ दुबैतर्फ मंसिरसम्ममा समग्र प्रणालीको विद्युत चुहावट १२ दशमलव पाँच प्रतिशत रहेको प्राधिकरणले जनाएको छ । 

गत असारसम्ममा समग्र प्रणालीको विद्युत चुहावट १५ दशमलव ३८ प्रतिशत थियो । प्रणालीमा रहेको विद्युत चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ । प्राधिकरणले चालु आर्थिक वर्षमा समग्र विद्युत चुहावटलाई १४ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई आठ दशमलव पाँच प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त अवस्थालार्य ठूलो उपलब्धि भएको बताएका छन् । झण्डै सात वर्षअघि वितरणतर्फको चुहावट २२ प्रतिशत हाराहारी रहेकोमा अहिले घटेर सात दशमलव ४९ प्रतिशतमा झार्न सकिएकोमा उनले खुशीसमेत व्यक्त गरेका छन् । 

प्राविधिक र गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई अझै सशक्त र प्रभावकारी बनाएर लक्ष्यभन्दा बढी चुहावट रोक्न टीम परिचालन गरिएको उनको भनाइ छ । 

अहिलेको अवस्था हुकिङबाट हुने विद्युत चोरीको नियन्त्रण, नियमित अनुगमन तथा कारबाही, ओभरलोड भएका सबस्टेशन र फिडर लाइनहरुको सुदृढीकरण एवम् नयाँ सबस्टेशन निर्माणलगायतका कार्यको नतिजा भएको उल्लेख गर्दै चुहावटलाई वाञ्छित सीमाभन्दा तल झार्ने गरी काम भइरहेको उनको दाबी छ ।

प्राधिकरणले सबैभन्दा बढी विद्युत चुहावट मधेश प्रदेशमा हुने गरेको बताएको छ । सातवटा प्रादेशिक कार्यालय र दुईवटा प्रदेश डिभिजन कार्यालय मातहतका वितरण केन्द्रमध्ये सबैभन्दा बढी चुहावट मधेश प्रदेशमा हुने गरेको पाइएको छ ।

टिप्पणीहरू