सहकारीका बजार प्रतिनिधिलाई तालिम

सहकारीका बजार प्रतिनिधिलाई तालिम

बागलुङमा सहकारीका बजार प्रतिनिधिहरुलाई क्षमता विकास तालिम दिइएको छ । बागलुङ बचत तथा ऋण सहकारी संस्थाको आयोजना र नेफ्स्कून नेपाल बचत तथा ऋण सहकारी संघको प्राविधिक सहयोगमा सदरमुकाम बागलुङ बजारमा उक्त तालिम दिइएको हो । 

दुई दिनसम्म चलेको तालिममा बागलुङ जिल्लामा क्रियाशील २१ वटा सहकारी संस्थाका ४२ जना बजार प्रतिनिधिको सहभागिता थियो । उमेश कोइराला र नेपाल बचत तथा ऋण सहकारी संघका अध्यक्ष चण्डीप्रसाद शर्माले सहभागीहरुलाई तालिम दिएका हुन् । 

तालिमको समापनको क्रममा सो क्षेत्रका विभिन्न व्यक्तिले आफ्ना धारणा राखेका थिए । सहकारी संस्थाका सञ्जयकुमार श्रेष्ठले सहकारीका बजार प्रतिनिधिको काम र व्यवहार सहकारीका सदस्यमैत्री बनाउन सकेको खण्डमा मात्र सहकारीको वास्तविक मर्म र धर्म कायम रहने बताए । 

उनले सहकारी संघ संस्थाले आफ्ना कर्मचारीलाई सक्षम र क्षमतावान बनाउन सकेको खण्डमा मात्र सहकारीले राम्रो नतिजा दिन सक्ने हुँदा यसतर्फ सञ्चालकको ध्यान जान जरूरी रहेको जनाए ।

टिप्पणीहरू