फिदिम नगर प्रज्ञा प्रतिष्ठान विधेयक पारित

फिदिम नगर प्रज्ञा प्रतिष्ठान विधेयक पारित

फिदिम नगरपालिकाको १२औँ नगरसभाले ‘फिदिम नगर प्रज्ञा प्रतिष्ठान विधेयक २०७९’ पारित गरेको छ । नगर प्रमुख मित्रप्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न नगरसभाले उक्त विधेयक परित गरेको बताइएको छ ।

नगरपालिकाको भाषा, लिपि, लोककला, लोकसंवाद, साहित्य, संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै कला सहित्य र संस्कृतिको अध्ययन अनुसन्धानका लागि प्रतिष्ठान विधेयक पारित गरिएको हो । यस क्षेत्रमा समर्पित प्रतिभाहरुको खोजी, सम्मान तथा कदर गर्न कानुनी व्यवस्था आवश्यक रहेको ठहर गरेर विधेयक पारित गरिएको नगर प्रमुख काफ्लेले बताए ।

प्रतिष्ठानमा अध्यक्षसहित उपाध्यक्ष, सदस्य सचिव र एक महिलासहित दुई जना प्राज्ञ सदस्य हुने व्यवस्था छ । त्यस्तै १० जना अन्य परिषद सदस्य हुने व्यवस्था गरिएको छ । समितिमा फिदिम नगरपालिकामा स्थायी बसोबास गरी नगरपालिकाको मतदाता नामावलीमा नाम भएकामध्ये भाषा, लिपी, लोकवार्ता, साहित्य, ललितकता तथा संस्कृतिमा योगदान पुर्याएका व्यक्तिहरुबाट प्रतिनिधित्व गराइने विधेयकमा उल्लेख छ ।

विधेयकअनुसार प्रतिष्ठानका अध्यक्ष, उपाध्यक्ष र सदस्यसचिव नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको संयुक्त बैठकले नियुक्त गर्ने छ ।
 

टिप्पणीहरू