सडक पुगेको ३० वर्षपछि बसपार्कको तयारी

सडक पुगेको ३० वर्षपछि बसपार्कको तयारी

पर्वतको कुश्मा नगरपालिकामा जिल्ला सडक सञ्जालसित जोडिएको तीन दशकपछि आधुनिक बसपार्क निर्माण हुने भएको छ । वि.सं. २०४८ मा पोखरा–बागलुङ सडक विस्तार भए पनि २०७९ मा मात्र कुश्मा नगरपालिका–६ बान्द्रेबिडी चौरमा बसपार्क निर्माण गर्न थालिएको छ । 

सडक विस्तारको लामो समय बित्दासमेत हालसम्म बसपार्क निर्माण हुन नसक्दा यात्रु तथा सवारी चालक समस्यामा परेका थिए । नगरपालिकाले सघन सहरी तथा भवन निर्माण कार्यालय बागलुङमार्फत् ठेक्का सम्झौता गरी बसपार्क निर्माण कार्य थालेको छ ।

नगरप्रमुख रामचन्द्र जोशीले उक्त बसपार्कमा ७ करोडदेखि १० करोडसम्म खर्च हुने जानकारी दिएका छन् । उनले भने,‘भवन निर्माणको जिम्मा स्याङ्जाको विजय सिद्धबाबा निर्माण सेवा कम्पनीलाई दिइएको छ । काम थालिएको एक महिना भइसकेको छ । अब छिटै कुश्मामा पनि बसपार्क निर्माण हुनेछ ।’

गत कात्तिकमा ठेक्का सम्झौता भएको योजनाको अवधि आगामी असोज मसान्तसम्म छ । बसपार्क करिब १२ रोपनी १२ आना क्षेत्रफलमा बसपार्क निर्माण हुन लागेको हो । कम्पनीका प्रबन्धक सविन श्रेष्ठले ठेक्का सम्झौताको अवधि ११ महिना मात्र रहेकाले अहिले निर्माणको काम धमाधम भइरहेको बताए ।

उनले भिरालो जमिन भएकाले दुई तहमा सवारी साधन पार्किङको व्यवस्था मिलाइएको बताउँदै वर्षायाम अगावै धेरैजसो काम सम्पन्न गर्न जनशक्ति परिचालन गरिएको दाबी गरेका छन् । बसपार्कसँगै दुई तले भवनमा टिकट काउण्टर र प्रतीक्षालय निर्माण गरिने नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले यसअघि पनि सिटीहलसहितको बसपार्क निर्माणका लागि डिपीआर तयार पारेको थियो । तर बजेट अभावका कारण उक्त बसपार्क निर्माण कार्य अघि बढ्न नसकेको हो ।

कुश्माबजार विस्तार हुँदै गइरहेको, भित्री र बाहिरी चक्रपथ निर्माण भइरहेको, पर्यटकीयस्थल थपिँदै गएकाले कुश्मा आधुनिक सहरको रुपमा विकास हुन थालेको नगर प्रमुख जोशीको भनाइ छ । ६ नम्बर वडाध्यक्ष ईश्वर गिरीले बसपार्क निर्माणका लागि यसअघि धेरै पटक पहल भएको बताउँदै यसपटक सम्पन्न हुने विश्वास गरेका छन् ।

उनले भने, ‘अब कुश्माबासीले लामो समयदेखि देखेको बसपार्कको सपना पूरा हुने छ ।’

नगरपालिकाले बसपार्क तीन तल्लाको निर्माण हुने गरी डिपीआर तयार गरे पनि हाललाई दुई तल्लाको मात्र निर्माण गरिने छ । सदरमुकाम कुश्माबाट दिनहुँ काठमाडौँ, पोखरा, सुनौली, विराटनगर, नेपालगञ्ज, भैरहवा, काँकडाभित्तालगायत सहरको निम्ति बस छुट्ने गरेका छन् । तर, जिल्लामा भित्रिएका र बास बस्नुपर्ने सवारीसाधन भने सुरक्षित ढङ्गको पार्किङको सुविधाबाट वञ्चित हुँदै आएका छन् ।

कुश्माबजार हुँदै दैनिक सयौंको संख्यामा सवारीसाधन बागलुङ, रुकुम, म्यादी, मुस्ताङ जाने गर्दछ । तर, पार्किङ व्यवस्थित नहुँदा वा सडकमै पार्किङ गरिँदा सवारी दुर्घटनाको जोखिम बढिरहेको सम्बद्ध अधिकारीहरुको भनाइ छ ।

टिप्पणीहरू