जो आए पनि बजेट आफ्नो ठाउँमा,अवसर पनि आफ्नैलाई

जो आए पनि बजेट आफ्नो ठाउँमा,अवसर पनि आफ्नैलाई

राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताहरुले आफ्नो गृहजिल्लामा बजेट थुपारेर चुनाव क्षेत्र सुरक्षित गराउने अभ्यास संसदीय राजनीतिमा नौलो होइन । सिङ्गै मुलुकको नेतृत्व गर्न अघि सरेका प्रमुख पार्टीका शीर्ष नेतामाथि चुनावमा टिकट वितरणदेखि राजनीतिक नियुक्तिसम्ममा आफ्नै गृहजिल्लालाई च्याप्ने गरेको आरोप लाग्दै आएको छ ।

मुख्यगरी लामो समय सत्ता राजनीति गरेका नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुमा यस्तो क्षेत्रीयतावादी चिन्तन बढी देखिन्छ । पछिल्लो समय माओवादी केन्द्रका नेताहरु समेत निकटतावादी सोच र कार्यशैलीबाट मुक्त हुन सकेका छैनन् । 

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बजेटजति सर्लक्कै झापामा पारेको आरोप थियो । त्यतिबेला प्रतिनिधिसभा बैठकमै कतिपय सांसदले आफ्नो क्षेत्रको बजेट पनि झापा लैजान ओलीलाई व्यंग गरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले पनि आफू शक्तिमा हुँदा गृहजिल्लालाई बढी प्राथमिकता दिएको इतिहास छ । 

बजेट विनियोजनमा मात्र होइन, चुनावमा टिकट वितरणदेखि मन्त्री, मुख्यमन्त्री बनाउनेसम्म सबै पार्टीमा शीर्ष नेताहरुकै हालीमुहाली चल्ने गर्छ । देउवा,ओली र प्रचण्डमात्र होइन,नयाँ दलहरुले पनि यस्ता विषयमा निर्णय गर्न मुख्य नेतृत्वलाई सर्वाधिकार बनाएका हुन्छन् । जसका कारण राजनीतिक अवसरहरु पनि शीर्ष नेताका गृहजिल्लामा केन्द्रिकृत हुने गरेको देखिन्छ । 

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको गृहजिल्ला त्यसको उदाहरण बनेको छ यसपटक । राष्ट्रिय राजनीतिको 'स्ट्राइकर' बनेका ओलीले यसपटक आफ्नो पार्टीको भागमा परेको प्रतिनिधिसभाको सभामुख र प्रदेश १ को मुख्यमन्त्री झापाली कार्यकर्तालाई बनाएका छन् ।

प्रदेश १ का ९३ जना सांसदमध्ये २१ जना झापाका छन् । १० जना प्रत्यक्ष निर्वाचित हुँदा समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने ३७ मध्ये ११ जना झापाबाट छानिएका हुन् ।

झापामा योचोटी राजनीतिक अवसरको खात लागेको छ । प्रदेश १ का ९३ जना सांसदमध्ये २१ जना झापाका छन् । १० जना प्रत्यक्ष निर्वाचित हुँदा समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने ३७ मध्ये ११ जना झापाबाट छानिएका हुन् । 

संघीय संसद्को सभामुख पद पनि झापाले नै पाएको छ । सभामुख चुनिएका एमाले नेता देवराज घिमिरे झापा–२ बाट निर्वाचित सांसद हुन् । एमालेको आन्तरिक राजनीतिमा उनलाई अध्यक्ष ओलीको अतिविश्वासपात्रका रुपमा पनि लिने गरिन्छ । झापा-५ का सांसद ओली आफैँ प्रमुख सत्तारुढ दलको नेता हुन् । 

यसपटक संघीय सरकारको उपप्रधानमन्त्री पाउने भाग्यमानी जिल्ला पनि झापा नै बनेको छ । राप्रपाका अध्यक्षसमेत रहेका राजेन्द्र लिङ्गदेन उपप्रधानसहित उर्जामन्त्री छन् । झापा क्षेत्र नम्बर ३ बाट लगातार दुईचोटी सांसद जितेका उनी राष्ट्रिय राजनीतिमा प्रभावशाली मानिन्छन् ।  

त्यस्तै, एमाले राष्ट्रियसभा संसदीय दलको नेता देवेन्द्र दाहाल पनि झापाकै हुन् । रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि एमाले अध्यक्ष ओलीले गृहजिल्लाका दाहाललाई उपल्लो सदनको नेता बनाएका हुन् । 

प्रदेश १ का मुख्यमन्त्री र प्रमुख विपक्षी दलको नेता पनि झापाली नै छन् । एमाले अध्यक्ष ओलीकै निर्वाचन क्षेत्र झापा-५ (१) बाट निर्वाचित सांसद हिक्मतकुमार कार्कीलाई ओलीकै जोडबलमा मुख्यमन्त्री मिलेको हो । नेपाली काँग्रेसको झापा जिल्ला सभापति भैसकेका उद्धव थापा अहिले प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलको नेता छन् ।

टिप्पणीहरू