सभामुखपछि उपसभामुख पनि झापाकै

सभामुखपछि उपसभामुख पनि झापाकै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसद इन्दिरा रानालाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ । आज बिहान बसेको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । 

सत्तारुढ गठबन्धनमा शक्ति भागबण्डा गर्दा उपसभामुख पद रास्वपाले पाउने सहमति भएको थियो । सोहीआधारमा रास्वपाले गठबन्धनका तर्फबाट साझा उम्मेदवारी दिनेछ । गठबन्धनसँग प्रतिनिधिसभामा बहुमत सांसद भएकाले इन्दिरा उपसभामुख निर्वाचित हुने लगभग निश्चित छ । 

यसअघ रास्वपामा उपसभामुखमा सोविता गौतम, सुमना श्रेष्ठ, चन्दा कार्कीको नामसमेत चर्चामा थियो । जसमध्ये काठमाडौँ-२ बाट सांसद चुनिएकी गौतमले उपसभामुख बन्न निकै प्रयास गरेकी थिइन् । तर, उम्मेदवार हुन् नपाएकी उनी इन्दिराको प्रस्तावक बन्ने भएकी छन् ।

भोलि हुने उपसभामुख चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार मनोनयन दिउँसो १ देखि अपरान्ह्र ४ बजेसम्मका लागि तोकिएको छ । 

प्रतिनिधिसभाले हिजोमात्रै सभामुख पाएको थियो । सत्ता गठबन्धनको समर्थनमा झापा-२ बाट चुनाव जितेका एमालेका देवराज घिमिरे सभामुख चयन भएका हुन् । उपसभामुख उम्मेदवार इन्दिरा पनि झापाकै हुन्।

 

टिप्पणीहरू