सशस्त्रद्वारा पूर्वानुमान सूचीअनुरुपको सरुवा,मध्यरात ९७ जना एसपीको जिम्मेवारी हेरफेर

सशस्त्रद्वारा पूर्वानुमान सूचीअनुरुपको सरुवा,मध्यरात ९७ जना एसपीको जिम्मेवारी हेरफेर

सशस्त्र प्रहरी बल, नेपालले पूर्वानुमान सूचीअनुरुपको सरुवा प्रणालीलाई कार्यान्वयनमा ल्याएको छ । महानिरीक्षक राजु अर्यालले पद बहालीसँगै घोषणा गरेको उक्त सरुवा प्रणालीलाई पुर्वानुमान योग्य बनाउँदै तर्जुमा गरिने नीतिलाई कार्यान्वयन गर्ने बताएका थिए । गएको मध्यरातमा प्रकाशित सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवालाई त्यसैको शुरुआत मानिएको छ ।

‘संगठनमा पहिलो पटक पूर्ण पूर्वानुमानसूचीमा आधारित सरुवा प्रकाशित भएको छ,’ सशस्त्रका एक जना प्रहरी उपरीक्षकले भने । हिजोको सरुवामा हालसम्म कमाण्डको जिम्मेवारी प्राप्त नगरेका उपरीक्षकलाई पहिलो प्राथमिकताका कार्यालयमा सरुवा गरिएको बताइएको छ । 

रिजर्भ गण र तालिम शिक्षालयहरुमा कमाण्ड गरेका सशस्त्र प्रहरी उपरीक्षकहरुलाई दोश्रो प्राथमिकतामा राखेर सरुवा गरिएको छ । विगतमा मुख्य गणमा कमाण्ड गरिसकेका सशस्त्र प्रहरी उपरीक्षकहरुलाई भने तेश्रो प्राथमिकतामा राखिएको सशस्त्रको भनाइ छ । 

सरुवाको सूचीअनुसार एक पटक मात्र कमाण्ड गरेर हाल कमाण्डमै रहेका सशस्त्र प्रहरी उपरीक्षकहरुले आफ्नो कमाण्ड अवधि पूरा नभएसम्म कमाण्डलाई निरन्तरता दिने र त्यसपछि मात्र सरुवा हुनेछन् । 

सरुवा पूर्वानुमान सूचीमा मुख्य उम्मेदवारको रुपमा रहेका तर विभिन्न स्वदेश तथा विदेशमा तालिमरत एवम् संगठनको आवश्यकताअनुसार महत्वपूर्ण जिम्मेवारीमा खटिएकाहरुको सरुवा भने आगामी दिनमा प्रकाशित गरिने पूर्वानुमान सूचीको मुख्य प्राथमिकतामा राखेर कमाण्डको जिम्मेवारीमा खटाउने व्यवस्था मिलाइएको हो ।  
त्यसैले उनीहरुलाई तत्काल कमाण्डको जिम्मेवारीमा सरुवा नगरिएको जानकारी दिइएको छ ।

सशस्त्रले यसअघि पनि पूर्वानुमान सूचीमै आधारित रहेर सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) र सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) हरुको सरुवा प्रणालीसमेत कार्यान्वयन गरिसकेको बताइएको छ । गएराति प्रकाशित सूचीमा ९७ जनाको सरुवा भएको उल्लेख छ । यसमा चार जना सशस्त्र प्रहरी उपरीक्षकहरुको तालिम शिक्षालयसहित यसअगाडि प्रकाशित कमाण्ड पूर्वानुमान सूचीलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याइएको दाबी गरिएको छ ।

महानिरीक्षक अर्यालले हिजो गरेको निर्णयानुसार सरुवाको पहिलो नम्बरमा राजेश उप्रेती छन् । उनलाई बराह बाहिनी मुख्यालय सुनसरीबाट महानिरीक्षकको सचिवालयमा ल्याइएको छ । अन्य ९६ जनाको सरुवा संलग्न सूचीमा उल्लेख छ ।

टिप्पणीहरू