लिफ्टमा अभिनेत्री लडेकोमा त्रिभुवन विमानस्थलको चासो

लिफ्टमा अभिनेत्री लडेकोमा त्रिभुवन विमानस्थलको चासो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एलिभेटर (विद्युतीय भर्याङ) मा अड्किएर अभिनेत्री तथा टीभी पर्सनालिटी उषा रजकको खुट्टामा चोट लागेको घटनाप्रति नागरिक उड्डयन प्राधिकरणले ध्यानाकर्षण भएको बताएको छ । 

विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फ आइएमएस ग्रुपले निर्माण तथा सञ्चालन गरेको एलिभेटर प्रयोग गर्दा ब्यागेज अड्किएर सामानसहित लडेको र खुट्टामा चोट लागेको भनि रजकले सामाजिक सञ्जालमा भिडियो अपलोड गरेपछि विमानस्थलस्थित नागरिक उड्डयनको कार्यालयले चासो देखाएको हो ।  

अभिनेत्री रजकले टिकटकमा पोस्ट गरेको भिडियो अहिले भाइरल बनेको छ । आगमनतर्फको एलिभेटरमा अड्किएर आफू र छोरी लडेको उल्लेख गर्दै उनले यसमा यात्रा गर्नु एकदमै खतरनाक भएको बताएकी थिइन् । 

साथै, उनले गलत इन्जिनियरिङका कारण दुर्घटनाको जोखिम बढेको र यात्रुलाई असुरक्षा भएको भन्दै आक्रोशसमेत व्यक्त गरिन् । यता, कार्यालयले विज्ञप्ति जारी गर्दै यात्रुको सेवासुविधामा हरदम सजग रहेको दावी गरेको छ । 

‘सञ्चालक आइएमएस ग्रुप तथा यस कार्यालयबीचको निकट समन्वयमा यात्रु गुनासो तथा कुनैपनि प्रकारको कमीकमजोरीको यथाशीघ्र सुधार, सेवासुविधामा अभिवृद्धिजस्ता विषयमा कार्यालय सजग एवम् सदैव क्रियाशील रहेको छ’, विज्ञप्तिमा भनिएको छ । 

साथै, ब्यागेज, ट्रली प्रयोग गर्ने यात्रुहरुलाई त्यहाँ उपलब्ध लिफ्ट प्रयोग गरिदिन तथा अन्य सहयोग एवम् सूचना चाहिएमा ड्युटीमा रहेका सुरक्षाकर्मी वा कार्यालयको नम्बर ०१–४११३१६३ मा सम्पर्क गर्न विज्ञप्तिमा भनिएको छ । 

आगमनलाई छिटो, छरितो एवम् व्यवस्थित बनाउनका लागि कार्यालयले ट्रली प्रयोग गर्ने प्रयोगकर्तालाई लक्षित गरेर तीन थान लिफ्ट सञ्चालनमा ल्याएको पनि उड्डयन कार्यालयले बताएको छ । त्यस्तै, प्रयोग नगर्ने यात्रुका लागि एक थान ऐलिभेटर, एक थान एस्कालेटर र एक थान स्टेरकेसको व्यवस्थापन गरिएको छ ।

टिप्पणीहरू