सुनकोशीका बिरामीलाई मासिक पाँच हजार, औषधि सित्तैं

सुनकोशीका बिरामीलाई मासिक पाँच हजार, औषधि सित्तैं

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले जटिल रोग लागेका बिरामीको उपचारमा सघाउन थालेको छ । मिर्गौला प्रत्यारोपण गरेका, डायलायसिस गराइरहेका, क्यान्सर र मेरुदण्डको पक्षघात भएका बिरामीलाई गाउँपालिकाले औषधि खर्चस्वरूप मासिक पाँच हजार रुपैयाँ दिन थालेको बताइएको छ । 

सरकारले ती चार रोगका बिरामीलाई उपचारमा सहयोग गर्ने उद्देश्यले कार्यविधि बनाएर उपचार खर्च उपलब्ध गराउन मुलुकभरका स्थानीय तहलाई निर्देशन दिएको थियो । सोहीअनुरुप सुनकोशीले पहिलो चरणमा ३८ जना बिरामीलाई सहयोग रकम वितरण गरेको हो । 

गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले मिर्गौला प्रत्यारोपण गरेका, डायलायसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएकालाई औषधोपचारवापत खर्च उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०७८ अनुसार ३८ जना बिरामीलाई छ महिनाको ३० हजारका दरले सम्बन्धित बिरामीको खातामा रकम जम्मा गरिदिएको जानकारी गराए । 

‘गाउँपालिकाले उक्त कार्यविधिअनुसार सार्वजनिक सूूचनामार्फत सबैसँग निवेदन माग गरेको थियो,’ उनले भने, ‘त्यसैअनुरुप चिकित्सकको रोग प्रमाणित हुने कागजपत्रको आधारमा रकम बैंकमा जम्मा गरिदिएका हौँ ।’          
      
अध्यक्ष तिमल्सिनाले गाउँपालिकाले साउनदेखि नै त्रैमासिक रुपमा बिरामीको खातामा रकम जम्मा गर्न थालेको बताउँदै पछि आएका बिरामीलाई उनीहरुको कागजपत्रका आधारमा रकम प्रदान गर्ने जनाए । 

चालु आर्थिक वर्ष २०७९/८० को स्वीकृत कार्यविधिअनुसार गाउँपालिकाले स्थायी ठेगाना भएका र मधुमेह, उच्च रक्तचाप, दम र मानसिक रोगीलाई निःशुल्क औषधिसमेत उपलब्ध गराउने भएको छ । गाउँपालिकाले यही माघको तेस्रो सातादेखि चारै रोगका बिरामीलाई सम्बन्धित वडा, स्वास्थ्यचौकी र महिला स्वास्थ्य स्वयंसेविकामार्फत् बिरामीले नियमित सेवन गर्दै आएको औषधि दिन थालेको हो ।

पालिका अध्यक्ष तिमसिल्सनाले गाउँपालिकाभित्रका ती रोगका बिरामीले नियमित सेवन गर्दै आएको औषधिको विवरण प्राप्त भइसकेको बताउँदै माघ मसान्तभित्र सबै बिरामीको घरघरमै औषधि पुर्याउन कार्यक्रम बनाइएको जानकारी दिए ।

टिप्पणीहरू