बहुमतका नेतालाई प्रधानमन्त्रीको प्रस्ताव : कम्युनिष्टहरु मिलौं !

बहुमतका नेतालाई प्रधानमन्त्रीको प्रस्ताव : कम्युनिष्टहरु मिलौं !

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका सच्चा कम्युनिस्टहरूको एउटै केन्द्र बनाउन आवश्यक रहेको बताउनुभएको छ । आज दिउँसो आफ्नै कार्यालयमा भेट्न आएका नेकपा (बहुमत) का नेता धमेन्द्र बास्तोलाको टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्रीले उक्त धारणा राख्नुभएको हो । 

माओवादी घटकहरुबीच एकता हुनुपर्ने बहस चलिरहेका बेला नेत्रविक्रम चन्द विप्लव समूहबाट टुक्रिएर केही महिनाअघि मात्रै गठन भएको नेकपा (बहुमत) का अध्यक्षसँग प्रधानमन्त्रीले भन्नुभयो, ‘संविधानमा समाजवादोन्मुख नेपालको व्यवस्था सामान्य अर्थमा लेखिएको होइन । नेपाली विशेषताको समाजवादी बाटोका बारेमा अहिले पनि बहस र छलफल चलिरहेको छ । नेपालमा रहेका सबै कम्युनिस्ट पार्टीहरूबीच अहिले यस विषयमा छलफल सुरू भएको छ । तपाईंहरूको रचनात्मक भूमिका रहने अपेक्षा छ ।’

भेटमा नेकपा (बहुमत) का नेताहरूले प्रधानमन्त्रीसमक्ष राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित विभिन्न मागहरू प्रस्तुत गरेका थिए । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले ध्यानाकर्षण गराएकोमा बास्तोला नेतृत्वको टोलीलाई धन्यवाद दिँदै सरकारको न्यूनतम साझा कार्यक्रममार्फत ती विषय सम्बोधन गर्ने प्रतिबद्धता जनाएको उहाँको सचिवालयले जानकारी दिएको छ । 

प्रधानमन्त्रीले भन्नुभयो, ‘राष्ट्रिय पुँजीको संरक्षण गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि सरकार प्रतिबद्ध छ । अहिलेको परिस्थितिमा कसरी अधिकतम काम गर्न सकिन्छ भन्नेमा चनाखो छु ।’

प्रचण्डले जनयुद्ध, थारु, मधेसलगायत विभिन्न आन्दोलन र संघर्षका क्रममा जेलमा रहेका बन्दीहरू रिहाइका विषयमा सरकार गम्भीर रहेको उल्लेख गर्दै यसअघि नै अध्यादेशमार्फत विधेयक ल्याउने भनिएकोमा संसद सञ्चालन भएकाले यो विषय अब विधेयकबाटै टुंगो लाग्ने उल्लेख गर्नुभयो ।

 

टिप्पणीहरू