रेडक्रसमा भाँडभैलो, राजनीतिक भागबण्डा मुख्य समस्या
गैरनाफामूलक र स्वयंसेवामा आधारित संस्था नेपाल रेडक्रस सोसाइटी पछिल्लो समय विकृतिको पर्यायवाची बन्दै गएको छ । ७७ वटै जिल्लामा शाखा भएको रेडक्रस मुलुकको सबैभन्दा ठूलो मानवीय संस्था हो । मानवता, निष्पक्षता, स्वाधीनता र एकताका साथ अघि बढ्ने उद्देश्यले स्थापना भएको संस्था आफैंभित्र गिजोलिएको छ ।
संस्थाका पूर्वअध्यक्ष डा. नेत्रप्रसाद तिम्सिनाका कारण रेडक्रसमा एकपछि अर्को किचलो र समस्या थपिएको बताइन्छ । लामो समयदेखि पदाधिकारीको निर्वाचन नहुँदा त्यहाँको समस्याले दीर्घकालीन निकास पाउन सकेको छैन । पूर्वअध्यक्ष तिम्सिना स्वयम् समस्या समाधानमा अड्चन बनिदिँदा रेडक्रसमा नयाँ नेतृत्व चुन्न महाभारत भएको बताइन्छ ।
रेडक्रस सदस्यहरुले चुनावमा जोडबल गरेपछि गत पुस १३ गते काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको अध्यक्षतामा निर्वाचनको टुंगो लगाउन बैठक बस्यो । सो दिन कुरो छिनोफानो हुन नसकेपछि भोलिपल्ट रेडक्रस कार्यालयमा बैठक राखिएको थियो ।
बैठकले सबैपक्ष मिलेर अघि बढ्ने निर्णय गरेको बताइन्छ । रेडक्रसभित्र नेपाली काँग्रेसको सबैभन्दा बढी बर्चस्व रहेको अरु पक्षको भनाइ छ । लगभग ५० जिल्लाका सभापति काँग्रेस निकट छन् । त्यस्तै, नेकपा एमाले निकट झण्डै २० जिल्ला सभापति छन् भने माओवादी केन्द्रले दुई र बाँकी नेकपा एकीकृत समाजवादी पार्टीलगायतको भागमा परेको छ ।
बैठकले एमालेलाई पनि निर्वाचनमा सहभागी गराउने र सँगसँगै अघि बढ्ने निर्णय गरेको थियो । तर, पूर्वअध्यक्ष तिम्सिनाले चुनाव रोक्ने बतावरण बनाउँदै बैठकको क्रममा रेडक्रसको सभाहलमा छिरेका उनले आफैं अध्यक्ष हुनुपर्ने ढिपी कसेका हुन् । उनले चर्काचर्की गर्न खोजेपछि सबै जना चुपचाप बसे । वातावरण शान्त बनाउन खोज्दै सिडियोले भने,‘चुनाव रोक्न मिल्दैन । तपाईंहरु वार्ता गर्नुस्, कुनै हालतमा चुनाव गराउनैपर्छ ।’
त्यस दिनको बैठकस्थलको घटना विवरण सुनाउँदै स्रोतले जानकारी दिएको छ । सोही क्रममा तिम्सिनाले झोक्किँदै भने, ‘यो जुनै हालतमा पनि रोक्नुपर्छ । तपाईंले हस्तक्षेप गर्न पाउनुहुन्न । यो गृह मन्त्रालयको मातहतमा पर्दैन्, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले हेर्ने हो । भोलि मलाई मन्त्रालयले अध्यक्ष बनाएर पठायो भने तपाईं के गर्नुहुन्छ ?’
साथै, उनले आफू अध्यक्ष नभए रेडक्रस चल्न नदिने धम्की दिएको त्यहाँ उपस्थित पदाधिकारीहरु बताउँछन् । तिम्सिनाले अर्को रेडक्रस खोल्ने धम्की दिएको उनीहरुको भनाइ छ । लामै तमासापछि सिडियो उपाध्याय त्यहाँबाट जुरुक्क उठेर हिँडे तर त्यसअघि रेडक्रसका निर्देशकलाई छलफलमा समन्वय गर्न निर्देशन दिएका थिए ।
पुस १६ गते बेलुकी निर्देशकले बैठक बोलाउँदै सबै सदस्यलाई तथानाम भनेको बताइन्छ । आक्रोशित हुँदै उनले भनेका थिए, ‘यो क्रम रोकिएन् भने यहाँ हातखुट्टा भाँचिन्छ, रक्तपात हुन्छ । भोलि तपाईं हामी एउटै बेडमा बसेर उपचार गराउनुपर्ने अवस्था आउँछ । त्यसैले निर्वाचनलाई यहिँ स्थगित गरौं ।’
अहिलेको सरकारमा एमालेकी भगवती चौधरीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पाउने तय भएपछि उनको स्वर झन् ठूलो भएको स्रोतको भनाइ छ । उनले त्योदिन अध्यक्षमा दाबी गर्नु पछाडिको कारण पनि यही भएको स्रोत बताउँछ ।
अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको बद्नाम
खराब नियत भएका केही व्यक्तिले रेडक्रसलाई खेलौना सोचिदिँदा अन्तर्राष्ट्रिय स्तरमै नेपालको बद्नाम भएको छ । एकाधका कारणले रेडक्रस विकृतिको दलदलमा फस्दै गएको निचोड निकालिएको छ । १९९ वटा मुलुक मिलेर बनेको रेडक्रसको अन्तर्राष्ट्रिय समितिमा महासचिवको भूमिका निर्वाह गरिरहेका चितवनका जगन चापागाईंलाई समेत रेडक्रसका पछिल्ला गतिविधिले अप्ठ्यारोमा पारेको छ ।
जेनेभामा जारी रेडक्रस बैठकले उनलाई निष्कासन गर्न सक्ने स्रोतको भनाइ छ । ‘रेडक्रस नेतृत्वले राम्रोसँग काम गरेको भए यस्तो अवस्था आउँदैन्थ्यो’, स्रोतले भन्यो,‘अन्तर्राष्ट्रियस्तरमा पुगिसकेको व्यक्तिलाई समेत यहाँको हर्कतले गाह्रो पारेको छ ।’
एमालेले कुनैपनि हालतमा रेडक्रस नछाड्ने
एमाले नेतृत्वले कुनै पनि हालतमा रेडक्रस नछाड्ने संकेत दिएको बताइन्छ । सोही कारणले रेडक्रस गिजोलिएको अर्को पक्षको बुझाइ छ । रेडक्रसबारे एमालेबाहेक अरुलाई केही जानकारी नभएको ढंगले प्रस्तुत हुन थालेपछि काँग्रेसी प्रतिनिधिहरु रुष्ट देखिन्छन् ।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ साउन १२ गते तिम्सिनाको नेतृत्वमा ३३ सदस्यीय समिति गठन गरेको थियो । तर, तिम्सिनाको हातमा जिम्मेवारी आएपछि रेडक्रसको अवस्था बिग्रिँदै गएको हो । पदका लागि उनले जस्तो हर्कत पनि गरेको आरोप छ । रेडक्रस कार्यालय घेर्ने, तोडफोड गर्ने र अरुले कुनै काम गर्न खोजिए रोकिदिने अहिले नियमित कार्य भएको छ । आफू रेडक्रसमा नभएपछि उनले विभिन्न अवरोध सिर्जना गर्दै आएको आरोप छ । तिम्सिनाको पछिल्लो गतिविधिबाट सबैजना आजित भइसकेको एक जना कर्मचारीले बताए ।
टिप्पणीहरू