प्रधानमन्त्री कुर्सीबाट नउठेपछि काँग्रेस रुष्ट

प्रधानमन्त्री कुर्सीबाट नउठेपछि काँग्रेस रुष्ट

नेपाली काँग्रेसले मधेस आन्दोलनका शहीदहरुप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपमान गरेको आरोप लगाएको छ । हिजोको प्रतिनिधिसभा बैठकमा शहीदको सम्मानमा मौनधारण भैरहँदा प्रधानमन्त्री आफ्नो आसनबाट नउठेको भन्दै काँग्रेस मधेस प्रदेश समितिले शहीदको अपमान भएको बताएको हो ।   

काँग्रेस मधेसका सभापति कृष्णप्रसाद यादवले प्रधानमन्त्रीसहित केही सांसदहरुले शहीदको सम्मानका लागि मौनधारणको अनुरोध अस्वीकार गरेको आरोप लगाए । उनले आज विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मधेश बलिदानी दिवसका अवसरमा मधेश आन्दोलनका शहीदहरुको सम्मानका लागि प्रतिनिधिसभा सदस्य सीके राउतद्वारा गरिएको मौनधारणको अनुरोधलाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लगायत कतिपय सांसदहरुले अवज्ञा गर्नु दुःखद छ ।’

सदनमा बोल्ने क्रममा जनमत पार्टीका अध्यक्षसमेत रहेका राउतले मधेशी शहीदहरुको सम्झानामा एक मिनेट मौन धारणा गर्न सांसदहरुलाई अनुरोध गरेका थिए । सो क्रममा प्रधानमन्त्री प्रचण्डलगायत केही मन्त्री र सांसदहरु आसनबाट उठेका थिएनन् । त्यसलाई काँग्रेस सभापति यादवले सत्ता र सत्तासिन राजनीतिक दलहरुले अझैँ पनि मधेशी आन्दोलनलाई मान्यता दिन नचाहेको रुपमा लिए ।

‘यो घटनाबाट हाम्रा शासकहरु मधेशका शहिदहरुप्रति समेत वैरभाव राख्छन् भनेर प्रष्ट हुन्छ’, विज्ञप्तिमा भनिएको छ,‘मधेश आन्दोलनका शहीदहरुप्रति प्रधानमन्त्री दाहाललगायतबाट देखाइएको यो हठ्ठी रवैया मधेश र मधेशी जनताप्रतिको अपमान पनि हो ।’

सभापति यादवले प्रतिनिधिसभामा भएको उक्त घटनाप्रति दुःख व्यक्त गर्दै आगामी दिनमा यस्ता विभेद र अपमानपूर्ण व्यवहार सबैको ध्यानाकर्षण पनि गराएका छन् ।

टिप्पणीहरू