भारतीय राजदूतलाई मन्त्री भेट्न भ्याइनभ्याई

भारतीय राजदूतलाई मन्त्री भेट्न भ्याइनभ्याई

नेपालको सत्ता राजनीतिमा प्रत्यक्ष चासो राख्दै आएको काठमाडौंस्थित भारतीय दूतावासले राजनीतिक भेटघाटलाई तीव्रता दिएको छ । पाँचदलीय गठबन्धन टुटेर वामपन्थी सरकार बनेपछि केही समय मौन देखिएको भारतीय दूतावास क्याबिनेट विस्तारसँगै पुनः सक्रिय भएको छ । 

भारतीय राजदूत नवीन श्रीवास्तवले आजमात्रै दुई प्रभावशाली मन्त्रीलाई सिंहदरबारमै पुगेर भेट्नुभएको छ । बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराँतीसँग भेटवार्ता गर्नुभएको उहाँले अपरान्ह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई उहाँकै मन्त्रालय पुगेर भेट गर्नुभएको हो । 

भेटमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको बताइएको छ । त्यसक्रममा मन्त्री भण्डारीले दुई मुलुकका सीमा क्षेत्रमा निर्माणाधीन तथा निर्माण गर्नुपर्ने सुक्खा बन्दरगाहका विषयमा राजदूत श्रीवास्तवको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले नेपालमा लगानी गर्ने उद्योगी व्यवसायीका लागि सरकारले सहज वातावरण बनाउने विश्वाससमेत राजदूतलाई दिलाउनुभएको बताइएको छ ।

राजदूत श्रीवास्तवले मन्त्री भण्डारीलाई बधाई तथा शुभकामना दिँदै दुई देशबीच व्यापार सम्बन्ध मजबुत बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले पारवहन सम्झौताका विषयमा अध्ययन गर्नुपर्ने उल्लेख गर्दै नीतिगत सुधार गर्नुपर्नेमा पनि जोड दिनुभएको हो ।

टिप्पणीहरू