गोदाममा छापा मार्ने पुलिस,फुर्सद छैन भन्ने राजश्व

गोदाममा छापा मार्ने पुलिस,फुर्सद छैन भन्ने राजश्व

प्रहरीले काठमाडौंको व्यस्त व्यापारिक क्षेत्र कुलेश्वरको एउटा गोदाममा गए राती छापा मारेको छ । छापाको क्रममा लगभग ८० लाख रुपैयाँको सामान जफत भएको बताइएको छ । 

हिजो अबेर गोदाम छापा हानेर फेला पारिएको सामानमा खाद्यान्न र लत्ताकपडा बढी थियो । गोदाम र व्यवसायीको बारेमा प्रहरीले केही पनि खुलाएको छैन । 

ती व्यवसायीले रुपन्देही, नवलपरासी र कपिलवस्तुबाट तस्करी गरेर ल्याएको सामान राख्ने गरेको सूचनाको आधारमा छापा हानिएको प्रहरीको भनाइ छ । 
गोदाममा म्याद सकिएको (डेट एक्सपाएर) खाद्यान्न रिलेबलिङ गर्ने गरिएको समेत बुझिएको छ ।

हिजो अबेर छापा मारिएकाले सम्बन्धित सामान र व्यवसायीलाई राजश्व अनुसन्धानमा बुझाउने कार्य आज र भोलि बिदाको कारण पर्सिमात्र सम्भव हुने प्रहरीले बतायो । ‘तीन दिन उनी हाम्रो हिरासतमा बस्छन्,’ प्रहरीले छापा मारेको पुष्टि गर्दै भनेको छ । हिजो शुक्रबार मुचुल्का उठाउन बोलाउँदा राजश्वका कर्मचारीले अफिस बन्द भैसक्यो,हामी घर जान लागेको भनेर बेवास्ता गरेको बुझिएको छ ।
 

टिप्पणीहरू