मध्यराती आतंक मच्चाउने भिआइपी छुटाउन मुस्लिम आयोगका अध्यक्षको धर्ना

मध्यराती आतंक मच्चाउने भिआइपी छुटाउन मुस्लिम आयोगका अध्यक्षको धर्ना

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी गए रातिदेखि प्रहरी हिरासतमा रहेका चार जना मापसेवाला भिआइपीलाई छुटाउन ज्यान फालेर लागेका छन् । गए मध्यरात मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको,सशस्त्र प्रहरीका पूर्व एआइजीको सवारी साधनमा गाडी ठोक्काएको आरोपमा समातिएका उनीहरुलाई छुटाउन अन्सारीले झण्डै १२ घण्टादेखि प्रहरी वृत्त महाराजगञ्जमा धर्ना दिइरहेको अवस्था छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनबाट राज्यमन्त्री सरहको सुविधाप्राप्त सल्लाहकार भनिएका जीवन गुरुङलगायत गएराति महाराजगञ्ज चक्रपथमा पक्राउ परेका थिए । मध्यरात मापसे खाएर जथाभावी सवारी साधन हाँकेको, डिभाइडरमा गाडी ठोकाएको र सशस्त्र प्रहरीका अवकाशप्राप्त एआइजी जीतबहादुर पुनको गाडीमा क्षति पुर्याएकोमा मध्यरात प्रहरीले तिनलाई नियन्त्रणमा लिएको हो ।

रक्सीले मातेका चार जना महाराजगञ्ज प्रहरीको नियन्त्रणमा छन् । एआइजीको बा.२७ च ४१९८ नम्बरको हाइलक्सलाई पछाडिबाट हिर्काएपछि उनीहरु गाडीसहित महाराजगञ्जतिर भागेका थिए । प्रहरीले पछ्याउँदै जाँदा उनीहरुलाई महारागञ्ज चोकबाट समातिएको बताइन्छ ।

गोरखा घर भएका मीनबहादुर घले,पर्वतका जीवन गुरुङ,सुकेधारा बस्ने सुजन अर्याल र चालक मादक पदार्थ सेवन गरेर सवारी साधन हाँकेको अवस्थामा पक्राउ परेका हुन् । हिजो राति त्यहाँका इन्स्पेक्टरलाई तर्साउँदै, ‘हामी को हो चिनेको छस् ?’ भनेर धम्क्याएका उनीहरुलाई अन्सारीले रातिदेखि छुटाउन खोजेका थिए ।

सरकारी नम्बर प्लेटको प्रदेश ३ ०१ ००२ झ ४७७७ फोर्ड कम्पनीको गाडी चढेर त्यहाँ पुगेका अन्सारीले अनेक अनुनय गरेको प्रहरी स्रोतको भनाइ छ । आयोगका अध्यक्ष समिमले आफूले हालसम्म रक्सी सेवन नगरेकाले मापसे गर्नेहरुलाई आफ्नो मुख हेरेर माफी दिन दवाव दिएको बताइन्छ ।

प्रहरीले कारबाहीको प्रक्रियामा गइसकेकाले कुनै हालतमा छाड्न नमिल्ने जवाफ दिएपछि त्यहाँका डिएसपी अंगुर जिसीलाई अन्सारीले प्रहरी महानिरीक्षकको हवाला दिँदै दबाब बढाएको स्रोतको दाबी छ। कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटना छानबिनमा संलग्न जिसीको सामुन्नेबाट महानिरीक्षकलाई फोन गरेको,त्योभन्दा माथिको हवाला दिएपछि प्रहरी चिढिएको बुझिएको छ ।

टिप्पणीहरू