दुर्गा प्रसाईंले हिन्दू राष्ट्र कायम गर्दै संघीयता खारेज गर्ने
एमाले नेतासमेत रहेका झापाका मेडिकल माफिया दुर्गा प्रसाईं उर्फ मार्सीले हिन्दू राष्ट्र कायम र संघीयता खारेज गर्ने अभियान थालेका छन् । गत साता पूर्व राजा ज्ञानेन्द्र शाह र उनका पुत्र पारस शाहसँग सिमरामा भेट गरेपछि उनी उक्त निश्कर्षमा पुगेका हुन् ।
एक वर्षअघि चितवनमा भएको एमालेको १० औं महाधिवेशन अघि र पछि अध्यक्ष केपी शर्मा ओलीको चर्को समर्थक देखिएका प्रसार्इं गत निर्वाचनमा झापाबाट सांसदको टिकट नपाएपछि एकाएक पूर्वराजाको कित्तामा पुगेका छन् । उनी पछिल्लो चरणमा मुलुकबाट संघीयता र धर्मनिरपेक्ष हटाउने अभियानमा जोडिन पुगेको बताइन्छ ।
सोही क्रममा उनले आगामी फागुन १ गते झापास्थित मेची पुलबाट र्याली निकाल्न लागेका हुन् । हिन्दू राष्ट्र कायम गर्ने र संघीयता खारेज गर्ने अभियानका साथ मेची पुलबाट आफ्नो नेतृत्वमा आयोजना गर्न लागिएको र्यालीमा सहभागी हुन सबैलाई उनले आह्वान गरेका छन् ।
पाँच वर्षअघि उनै प्रसाईंले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भक्तपुरस्थित घरमा जुम्लाको मार्सी चामलको भात खुवाएर चर्चामा आएका थिए । पछिल्लो समयमा उनले एमाले अध्यक्ष ओलीलाई सार्वजनिक रुपमा ‘बा’ भनेर चर्चा बटुलेका थिए ।
टिप्पणीहरू