प्रधानन्यायाधीशको कक्टेल डिनरअघि स्थानीयको विरोध

प्रधानन्यायाधीशको कक्टेल डिनरअघि स्थानीयको विरोध

सर्वोच्च अदालत बार एसोसिएसनको ४८ औं वार्षिक साधारण सभा आज दिउँसोदेखि शुरु भएको छ । सभा ठमेलस्थित होटल अलफ्टमा भइरहेको छ । 

दिउँसो २ बजेदेखि भइरहेको सभामा सर्वोच्च अदालत बार एसोसिएसनका नवनियुक्त पदाधिकारिहरूलाई पदभार हस्तान्तरण कार्यक्रम रहेको बताइएको छ । बारका अध्यक्ष पूर्णमान शाक्यको अध्यक्षतामा भइरहेको कार्यक्रममा विद्यमान कार्यसमितिका पदाधिकारी, नवनिर्वाचित पदाधिकारी र पूर्व अध्यक्षहरुको उपस्थिति छ ।

त्यस्तै वरिष्ठ अधिवक्ताहरू, पूवन्यायाधीशहरू गरेर झण्डै एक सय जनाको सहभागिता रहेको कार्यक्रममा साँझ कक्टेल डिनर राखिएको छ । उक्त डिनरमा कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की पनि उपस्थित हुने आयोजकहरुले बताएका छन् ।

वकिलहरुको कार्यक्रममा प्रधानन्यायाधीश कार्कीसमेत उपस्थित हुने भएपछि ठमेलका स्थानीयले कार्यक्रमस्थल बाहिर प्रदर्शन गरेका हुन् । उनीहरु दिउँसैदेखि छायाँ सेन्टर अगाडि भेला भएका हुन् । सम्पदाप्रेमी नेपाली जनता समूहको नाममा भातवत नरसिंह प्रधान, राजवीर डंगोललगायत तीन दर्जनले ऐतिहासिक कमलपोखरी मासेर छायाँ सेन्टर बनाइएकोमा विरोध गरेको बताएका छन् ।

सम्पदाको जगेर्ना गर्न सर्वोच्च अदालतको सहयोग हुनुपर्ने मागसहित प्लेकार्ड देखाउँदै उनीहरुले विरोध गरेका हुन् । छायाँ सेन्टर निर्माणविरुद्धको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको र सोही स्थानमा सर्वोच्चका वकिल र न्यायाधीशहरुको कार्यक्रम राखिएको भन्दै उनीहरुले विरोध गरेको जानकारी दिएका छन् ।

टिप्पणीहरू