सशस्त्रमा तलकाले पैसा खाइदिँदा माथिको उपाधी चट्

सशस्त्रमा तलकाले पैसा खाइदिँदा माथिको उपाधी चट्

सशस्त्र प्रहरी बल नेपालले भोलि आफ्नो स्थापनाको २२ औं दिवस मनाउँदैछ । विभिन्न कार्यक्रमका साथ मुख्यालय,हल्चोक स्वयम्भू र मुलुकभरका युनिटमा आफ्नै तरिकाले मनाउने तयारी पूरा भएको जनाइएको छ । काठमाडौंमा भोलि मनाइने विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख अतिथि बनाउने योजना  छ ।

सशस्त्रको वार्षिकोत्सवमा सबैभन्दा आकर्षक उत्कृष्ट बटालियनले प्राप्त गर्ने रनिङ सिल्डलाई लिइन्छ । यो वर्ष विभिन्न गणमध्ये रौतहटको गण पहिलो भएकाले उसलाई भोलि उक्त सिल्ड प्रदान गर्ने तयारी हुँदै गर्दा एकाएक उसको उपाधी खोसिएको छ ।

कार्य सम्पादनको हिसाबले उत्कृष्ट बटालियन भनेर रनिङ सिल्ड थाप्ने तयारी गरिँदा पूर्वार्धमा उत्कृष्टको सिफारिस उल्टेको स्रोतको दाबी छ । यता हेडक्वार्टरमा उत्कृष्ट गणको उपाधी प्रदान गर्ने तयारी भइरहँदा उता गौर नजिकैको एउटा बिओपीमा खटिएका केही जवानले घुस रकम लिएको प्रमाण प्राप्त भएपछि उपाधी खोस्ने निर्णयमा मुख्यालय पुगेको हो ।

‘गौरमा एउटा बीओपीका केटाहरुले पैसा खाइदिएको थाहा पाएपछि उत्कृष्ट गणको सम्मान नै खोसिएको छ । घोषणाको तयारी हुँदैगर्दा उक्त उपाधी खोस्ने निर्णय भएको छ,’ सशस्त्र मुख्यालय स्रोतले भन्यो । उक्त गणका गणपति ध्रुवबहादुर कार्की हुन् ।

पहिलो नम्बरको गणको उपाधी खोस्ने निर्णयपछि दोस्रो नम्बरको गणले उक्त अवसर पाउने भएको छ । ललितपुर सातदोबाटोमा रहेको सशस्त्र प्रहरीको २१ नम्बर गण हेडक्वार्टर दक्षिणकालीले अब उत्कृष्टको उपाधी पाउने भएको हो ।

त्यसैगरी सशस्त्र प्रहरी बल नम्बर ५ विन्ध्यवासिनी बाहिनीलाई पनि बाहिनीमध्ये उत्कृष्ट घोषणा गरिँदैछ । उक्त बाहिनीको हेडक्वार्टर चन्द्रौटा,कपिलवस्तुमा छ ।

टिप्पणीहरू