माछाका लागि पशुको पैसा झ्वाम

माछाका लागि पशुको पैसा झ्वाम

माछाका भुरा उत्पादन गर्ने भन्दै पशु अस्पताल तथा पशु सेवा कार्यालयले बाँडेको एक करोड रुपैयाँ बालुवामा पानीझैँ भएको छ ।

सुर्खेतको भेरी नगरपालिका–१३ कुदुस्थित इन्द्र मिलन कृषि तथा पशु पालन सहकारी संस्थालाई माछाको भुरा उत्पादन तथा माछा पालनका लागि आर्थिक वर्ष २०७६र७७ देखि २०७८र७९ सम्म एक करोड रुपैयाँ भुक्तानी भएको छ । तर, उक्त सहकारीले माछा उत्पादन त कता हो कता अहिलेसम्म पोखरीसमेत छैन ।  

सरकारी अनुदानको पैसा खर्चिएर किनेको डिप बोरिङ मेसिनसमेत खिया लागेर काम नलाग्ने अवस्थामा पुगेको छ । भुरा उत्पादनका लागि हेचिङ पलान्ट अलपत्र अवस्थामा पुगेको छ । अहिले भुरा उत्पादन हुने भनिएको ठाउँमा रहेका पोखरीहरु चिराचिरा परेका अवस्थामा रहेका छन् । 

यता पशु कार्यालयले भने धमाधम भुक्तानी दिइरहेको छ । आर्थिक आर्थिक वर्ष २०७८र७९ मा पनि यो सहकारीले केही रकम लिन बाँकी रहेको पशु कार्यालयका सूचना अधिकारी तिलकबहादुर रानाले बताए । अघिल्लो बर्षको रकम भुक्तानी हुने क्रममा रहेको उनले बताए । ढिला फाइल बुझाएका कारण रकम भुक्तानी हुन नसकेको हो । 

पोखरी बचाउन राखिएका घेराबार भत्किएका अवस्थामा छन् । पोखरीभित्र राखिएको प्लास्टिकहरू च्यातिएर काम नलाग्ने अवस्थामा पुगेको छ । शक्तिकेन्द्रको पहुँचमा पैसा लिएर काम नगरी अलपत्र पर्दा प्रदेश सरकारको बजेटमात्र खेर गएको कर्मचारीहरु समेत बताउँछन् ।

माछापालन तथा भुरा उत्पादनको नाममा लाखौँ रकम झ्वाम पारेको स्थानीयबासीको भनाई छ । अहिले न यहाँ भुरा उत्पादन भए, न त माछापालन नै भयो । पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट सहकारीलाई ताकेता गर्दा सहकारीका पदाधिकारीले ध्यान नदिएको कार्यालय प्रमुख कलमबहादुर महताराले बताए । अहिले फेरि सोही ठाउँमा १० लाख रकम आएकोसमेत उनले बताए ।

पोखरीमा अहिले माटो भारी मात्रामा रहेको छ । सहकारीका अध्यक्ष शेरबहादुर महतारालाई सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

टिप्पणीहरू