देउवाबिरोधी खेमाको नेता खासमा को ?

देउवाबिरोधी खेमाको नेता खासमा को ?

नेपाली कांग्रेसमा संस्थापनइतर समूहको नेता कसलाई मान्ने भन्नेमा आपसमै विवाद देखिएको छ । संसदीय दलमा सभापति शेरबहादुर देवासँग प्रतिष्पर्धा गरेका युवा नेता गगन थापा नै इतर गुटको नेताका रुपमा प्रचार भैरहँदा आज बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको बैठकमा यस्तो विवाद देखिएको हो । 

बैठकमा सहभागी एक नेताका अनुसार समूहलाई एकतावद्ध बनाउन एकै व्यक्तिलाई नेता मानेर जानुपर्ने र त्यसको नेतृत्व डा. शेखर कोइरालाले गर्नुपर्ने आवाज उठेको छ । कसलाई नेता मान्ने भन्ने प्रष्ट नभएकै कारण संसदीय दलको निर्वाचनमा समूहकै मत एकीकृत हुन नसकेकाले यो विषय प्रष्ट हुनुपर्नेमा केही नेताहरुले आवाज उठाएको उनले बताए । 

उपसभापति धनराज गुरुङले त डा.कोइरालालाई नेता मानेर अहिले नै भावी सभापतिको उम्मेदवार घोषणा गर्नुपर्ने प्रस्तावसमेत गरेको बताइएको छ । बैठकमा पार्टीभित्र समूहको प्रभावकारिता, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय र भ्रातृसंगठनलाई पूर्णता दिनेलगायतका विषयमा समेत छलफल भएको थियो । बैठक स्रोतका अनुसार डा.कोइरालाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनु गलत भएको बताएका थिए । उनले पार्टीले लिएको निर्णयले कांग्रेसलाई नै क्षति भएकाले त्यसलाई रोक्न प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए ।

नेता कोइरालाले कार्यसम्पादन समितिको बैठकमा आफूले प्रचण्डलाई विश्वासको मत दिनु नहुने प्रस्ताव गरे पनि बहुमतको निर्णयलाई मान्नुपर्ने बाध्यता रहेको सुनाएका थिए । बैठकमा उपसभापति गुरुङ्ग, महामन्त्री थापा, सहमहामन्त्री जीवन परियार,बद्रि पाण्डे, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसीलगायत उपस्थित छन् ।

टिप्पणीहरू