विद्यार्थीको चुनावमा एमालेको अर्जुनदृष्टि
अनेरास्ववियुको २३ औं राष्ट्रिय सम्मेलनका सम्मुख त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति सार्वजनिक गरेसंगै नेकपा एमाले सो को तयारीमा जुटेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले माघ १५ गते १ बजेदेखि लाइभ जुममा अन्तरक्रिया गर्न लाग्नुभएको छ ।
अनेरास्ववियुलाई थप व्यवस्थित बनाउन र सही नेतृत्व चयनलगायतका विषयमा छलफल गर्न अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । लाइभमा सहभागिता जनाउन सम्पूर्ण जिल्ला ईञ्चार्ज,केन्द्रीय कमिटी सदस्य,जिल्ला पार्टीका पदाधिकारी,विद्यार्थी ईञ्चार्ज,पार्टी नगर अध्यक्ष र पालिका प्रमुखहरुलाई निर्देश गरिएको छ ।
त्यस्तै,उक्त कार्यक्रमको संयोजन जिल्ला पार्टी ईञ्चार्जले गर्नुपर्ने बताइएको छ । स्ववियु निर्वाचन एवम राष्ट्रिय सम्मेलनको आवश्यक छलफल र कार्ययोजना निर्माणको लागि सातै प्रदेश कमिटीले अनेरास्ववियुका ईञ्चार्ज माधव ढुंगेलसम्म सम्पर्क–समन्वय गरी कार्यक्रम यथावत राख्न भनिएको छ ।
स्ववियु निर्वाचन हुने क्याम्पसमा सहयोग समिति बनाई अनेरास्ववियुको विजयलाई सुनिश्चित गर्न सम्बन्धित पार्टीपंक्तिलाई यथोचित परिचालन गर्न निर्देशन छ । स्ववियुको निर्वाचन आगामी चैत ५ गतेका लागि तय भएपछि एमालेले अनेरास्ववियुलाई थप व्यवस्थित गर्न,नेतृत्व विकास र आन्दोलनमा भूमिका महत्वपूर्ण बनाउन विशेष ध्यान दिन जरुरी रहेको बताएको छ ।
टिप्पणीहरू