प्रचण्ड भेट्न माधव नेपाल माओवादी अफिसमा

प्रचण्ड भेट्न माधव नेपाल माओवादी अफिसमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा आज दिउँसो उहाँहरुबीच एक घण्टा गोप्य भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष नेपाल बिहान साढे ११ बजे सिंहदरबार पुग्नुभएको थियो । 

राष्ट्रपति, सभामुखलगायत संवैधानिक पदमा राष्ट्रिय सहमति खोज्ने प्रधानमन्त्री प्रचण्डको चाहनाका बाबजुद उक्त प्रयास असफल भएलगत्तै आज उहाँहरु भेटघाटमा जुट्नु भएको हो । प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपति र सभामुखमध्ये एक पद आफूले पाउनुपर्ने दावी गरेको छ भने त्यसमा प्रचण्ड सहमत रहेको चर्चा छ । तर, प्रतिनिधिसभाको सभामुख र उपसभामुख चयनमा सहमति नहुँदा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । 

कांग्रेस नेताहरुले अहिलेको सत्ता गठबन्धन राष्ट्रपतिको निर्वाचनसम्म मात्रै जाने दावी गरिरहेका बेला प्रतिपक्षी गठबन्धनका शीर्ष नेतासमेत रहनुभएका अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई भेट्नुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । तत्कालीन पाँच दलीय गठबन्धन टुटेर प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बनेकोमा समाजवादीका अध्यक्ष नेपाल असन्तुष्ट हुनुहुन्छ ।

टिप्पणीहरू