बिहेमा सिलिण्डर दाइजो दिने भन्दा पनि यौटै निवेदन परेन

बिहेमा सिलिण्डर दाइजो दिने भन्दा पनि यौटै निवेदन परेन

बाँकेको खजुरा गाउँपालिका ५ नम्बर वडा कार्यालयले बालबिबाह रोक्न ग्याँसको सिलिन्डर उपहार दिने कार्यक्रम ल्याएको छ । आफ्नो वडामा बसोबास गर्ने युवतीहरुले उमेर पुर्याएर (२० वर्षपछि) विवाह गरे सिलिन्डर सेट उपलब्ध गराउने वडा कार्यालयको घोषणा थियो । 

वडाध्यक्ष गरिबे शेषले सानै उमेरमा हुने बालविवाह रोक्नका लागि यस्तो कार्यक्रम सञ्चालनमा ल्याइएको जानकारी दिए । उनले वार्षिक विनियोजन बजेटबाट २० वर्ष माथिका युवतीहरुको विवाहमा उपहारस्वरुप सिलिन्डर सेट उपलब्ध गराउने कार्यक्रम रहेको हुँदा इच्छुक युवतीहरुले उपहार लिन प्रमाणसहित वडा कार्यालयमा जानकारी गराउनुपर्ने बताए ।

 
उनका अनुसार वडाद्वारा बालविवाह रोकथामका लागि विभिन्न कार्यक्रम सञ्चालनमा ल्याए पनि त्यसले प्रभावकारी रुप नलिएपछि सिलिण्डर दिन लागिएको हो । 

‘यो वडामा मधेशी र मुस्लिम समुदायको संख्या धेरै छ,’ वडाध्यक्षले भने,‘उनीहरुले आफ्ना चेलीबेटीहरुको उमेर नै नपुगी विवाह गरिदिन्छन् । जसले गर्दा महिलाहरु घरेलु हिंसालगायत अन्य हिंसाको शिकार हुन पुग्छन् । त्यसैले, बालविवाह न्यूनीकरणका लागि हामीले उक्त कार्यक्रम सञ्चालनमा ल्याएका हौँ ।’

वडाध्यक्ष शेषले गाउँपालिका र वडाद्वारा बालविवाह रोक्नका लागि किशोरी नाटक,महिला स्वंयसेवक, जनचेतना कार्यक्रम,र्यालीजस्ता कार्यक्रम पटकपटक गरेपनि न्यूनीकरण हुन नसकेपछि २० वर्ष पुगेर विवाह गर्ने युवतीलाई उपहारस्वरुप सिलिन्डर सेट दिने निर्णय भएको बताए । 

उनले गत माघ ३ गतेदेखि सिलिन्डर दिने निर्णय गरेपनि अहिलेसम्म एउटा पनि निवेदन नआएको गुनासो गरे ।

टिप्पणीहरू