धरानका मेयर पनि बालेन बन्न खोजेपछि ..

धरानका मेयर पनि बालेन बन्न खोजेपछि ..

काठमाडौँलगायत देशका ठूला स्थानीय सरकारमाथि निर्माणभन्दा ध्वंसलाई बढावा दिएको आरोप लागिरहेका बेला उत्कृष्ट काम गरेर चर्चामा रहेको धरान उपमहानगरपालिकासमेत विवादमा मुछिएको छ । शहरमा निर्मित भौतिक संरचनामाथि डोजर चलाउन थालिएपछि उपमहानगर विवादमा परेको हो । 

भौतिक संरचना भत्काउने अन्य स्थानीय तहका निर्णयको चर्को आलोचना गर्ने धरानका मेयर हर्क साम्पाहाङ राई त्यसलाई ध्वंसको संज्ञा दिने गर्थे । तर, आज बिहानै स्थानीयको घर भत्काउन उपमहानगरको डोजर धरान–५ स्थित देउराली पुग्यो । सार्वजनिक जग्गा र खोला अतिक्रमण गरी बनाइएको भनिएको मुना चौधरी लिम्बुको पक्की घर भत्काउन डोजर पुगेपछि त्यहाँ झडपसमेत भएको छ । 

डोजर चलाउने क्रममा सुरक्षाकर्मी र स्थानीय बासिन्दाबीच झडप हुँदा उपमहानगरको डोजरको सिसा फुटेको छ । विकासका नाममा नागरिकको घर भत्काउने कदमको प्रतिरोध गरेको एक स्थानीयले बताएका छन् । मेयर राईको भनाई र गराईमा आकाश जमिनको फरक परेको उनले गुनासो गरे । 

उपमहानगरले भने यसअघि नै १५ दिने सूचना निकालेर उक्त संरचना हटाउन भनेपनि अटेरी गरेकाले डोजर चलाउनु परेको भन्दै आफ्नो कदमको प्रतिरक्षा गरेको छ । उपमहानगरका एक अधिकृतले धरान–५ को खारखोला र अँधेरी खोलाको संगमस्थलमा बहुजातीय रंगशाला बनाउने निर्णय गरेको तर उक्त क्षेत्रमा एकतले पक्की घर निर्माण गरेकोले सुरक्षाकर्मी परिचालन गरी जग्गा खाली गराइएको जानकारी बताए । 

उनका अनुसार उपमहानगरले सार्वजनिक जग्गामा घर निर्माण नगर्न पटकपटक पत्राचार गरेपनि अटेरी गरेपछि बाध्य भएर डोजर चलाउनु परेको हो । उपमहानगरले खोला किनार र सार्वजनिक जग्गामा नयाँ घर निर्माण कार्यलाई निरुत्साहित गर्ने र पुराना निर्माण भएकालाई व्यवस्थित गर्ने नीति सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

टिप्पणीहरू