बाबुरामसँग एकता गर्न माओवादीले बैठक बोलायो

बाबुरामसँग एकता गर्न माओवादीले बैठक बोलायो

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले स्थायी र केन्द्रीय समितिको बैठक बोलाएको छ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँग एकीकरणका विषयमा छलफल गर्न बैठक डाकिएको हो । 

महासचिव देवप्रसाद गुरुङका अनुसार माघ ११ गते स्थायी कमिटी बैठक बस्नेछ भने केन्द्रीय समिति १५ गतेका लागि तय भएको छ । केन्द्रीय समिति बैठकले पार्टी एकीकरणका लागि कार्यदलले तयार पारेको प्रतिवेदन अनुमोदन गर्ने बताइएको छ । बैठकमा पछिल्लो राजनीतिक परिस्थितिवारे पनि छलफल हुने महासचिव गुरुङले बताउनुभयो ।  

पार्टी एकीकरणअघि बैचारिक, सांगठानिक विषय मिलाउन दुवै पार्टीले कार्यदलस्तरमा छलफल अघि बढाएका छन् । हिजो बसेको कार्यदल बैठकमा पार्टी एकीकरण गर्न दुवै पक्ष मञ्जुर भएको बुझिएको छ । 

माओवादी र नेसपाबीच चुनावअघि नै पार्टी एकता गर्ने सहमति भएको थियो । त्यही सहमतिअनुसार मङ्सिर ४ को निर्वाचनमा माओवादीको चुनाव चिन्हमा प्रतिष्पर्धा गरेको नेसपाले प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिकमा एक-एक सिट जितेको छ । 

अहिलेको सत्ता गठबन्धन भत्काउने घोषित नीतिमा रहेको नेपाली कांग्रेसले डा.भट्टराईलाई राष्ट्रपतिको उम्मेदवारका रुपमा अघि सारेर माओवादीलाई अप्ठेरोमा पार्ने भित्री तयारी गरेको चर्चा पनि छ । त्यसअघि नै माओवादी र नेसपाबीच एकता भए सत्ता राजनीतिले नयाँ मोड लिनसक्ने धेरैको अनुमान छ ।
 

टिप्पणीहरू