फाइदा उठाउन फौजमा केसम्म हुँदो रहेछ ?

फाइदा उठाउन फौजमा केसम्म हुँदो रहेछ ?

उपाधिका लागि जे गर्न पनि तयार हुने परिस्थिति फौजमा देखिएको छ । अरुमाथि हिलो छ्यापेर उसको हिस्साको उपाधि आफ्नो पोल्टामा पार्ने केही फौजीका कारण संगठनको छविको धज्जी उडेको छ ।

सशस्त्र प्रहरी बल नेपालले भोलि आफ्नो २२ औं स्थापना दिवस मनाउँदैछ । विभिन्न कार्यक्रमका साथ मुख्यालय,हलचोक स्वयम्भू र मुलुकभरका युनिटमा आफ्नै तरिकाले स्थापना दिवस मनाउने तयारी पूरा भएको छ । 

काठमाडौंमा भोलि मनाउन लागिएको विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्रमुख अतिथि बनाउने योजना छ । सशस्त्रको वार्षिकोत्सवमा सबैभन्दा आकर्षक उत्कृष्ट बटालियनले प्राप्त गर्ने रनिङ सिल्डलाई लिइन्छ । 

यो वर्ष विभिन्न गणमध्ये रौतहटको गण पहिलो भएकाले भोलि सिल्ड प्रदान गर्ने तयारी हुँदै गर्दा एकाएक उसको उपाधी खोसिएको छ । गणपति ध्रुवबहादुर कार्कीले उक्त सिल्डका लागि एकदमै मेहिनेत गरेका थिए । 

रनिङ सिल्ड लिनकै लागि उनी अस्ति बिहान काठमाडौं आएका छन् । तर, उता गौर नजिकैको एउटा बिओपीमा खटिएका जवानले हिजो कोशेली बुझेको सिसिटिभी फुटेज बाहिर आयो । उक्त घटनापछि हिजै ३ जना एआइजी नारायणदत्त पौडेल,सिपी गौतम र बँशी दाहाल बसेर उपाधी खोस्ने निर्णयमा पुगिएको हो । 

कार्य सम्पादनको हिसाबले उत्कृष्ट बटालियन भनेर रनिङ सिल्ड थाप्ने तयारी गरिरहँदा पूर्वार्धमा उत्कृष्टको सिफारिस उल्टेको बताइन्छ । पहिलो नम्बरको गणको उपाधी खोस्ने निर्णयपछि दोस्रो नम्बरको गणले उक्त अवसर पाउने भएको छ । 

ललितपुर सातदोबाटोस्थित सशस्त्र प्रहरीको २१ नम्बर गण हेडक्वार्टर दक्षिणकालीका एसपी विकास घिमिरेले अब उत्कृष्टको उपाधी हात पार्ने छन् । 

गणपति कार्की काठमाडौं आएपछि १०–११ बजेतिर गौरमा बिदामा गएको एक जनाले सशस्त्र जवानलाई गुट्खा पराग दियो । चिनेकै व्यक्तिले ल्याएर जवानलाई गुट्खा दिएपछि उनले लिए । तर, सिसीटिभीमा हेर्दाखेरि पैसा लिएझैं देखियो । 

ललितपुरका विकास घिमिरेले यसको फाइदा उठाए । उनले ध्रुवलाई ‘बलिको बोको’ बनाएको स्रोतको दाबी छ । "विकास एकदमै कला मिलाएर खान जान्ने पात्र व्यक्ति हो । उसले माथिका अधिकृतहरुको कान भर्दा मरिमेटेर पहिलो नम्बरमा आएको ध्रुवको मेहिनेत खेर गयो । कपिलवस्तुका एसपी सूर्यबहादुर सेन ओली र ध्रुव एकापसमा बदली भएका पात्र हुन् । यिनले फोन सम्पर्क गरेर आलोपालो रुट दिने गरेका थिए’,स्रोतले भन्यो ।

टिप्पणीहरू