बेलायतीमा अझै औपनिवेशिक मानसिकता रहेको भारतको आरोप

बेलायतीमा अझै औपनिवेशिक मानसिकता रहेको भारतको आरोप

भारत सरकारले बेलायतीहरुमा अझै पनि सदियौं अघिको औपनिवेशक मानसिकता रहेको आरोप लगाएको छ । विदेश मन्त्रालयका प्रवक्ता अरविन्दम बाग्चीले नियमित पत्रकार सम्मेलनमा उक्त धारणा राखेका हुन् ।

बेलायतको राज्यद्वारा प्रवर्धित प्रशारण संस्था बीबीसीले हालै प्रशारण गरेको प्रधानमन्त्री नरेन्द्र मोदीसम्बन्धी एक वृत्तचित्रको निन्दा गर्दै बाग्चीले उक्त प्रतिक्रिया जनाएको बताइएको छ । ‘त्यो वृत्तचित्र नभएर विशेष बदनाम कथाको रुपमा डिजाइन गरिएको प्रचार प्रसार थियो,’ भारतीय प्रतिक्रियाको निचोड छ ।

उक्त कार्यले बेलायतको निरन्तर औपनिवेशिक मानसिकतालाई प्रतिबिम्बित गरेको बाग्चीले बताए । दुई भागमा बीबीसी टेलिभिजनमा देखाइएको वृत्तचित्रमा सन् २००२ मा गुजरातमा भएको दंगा र हिंसाको कारकको रुपमा तत्कालीन मुख्यमन्त्री मोदीलाई उल्लेख गरिएको छ ।

प्रवक्ता बाग्चीले भनेका छन्, ‘हामीले यसलाई कुप्रचारको रुपमा लिएका छौं । पूर्वाग्रह,वस्तुनिष्ठताको अभाव र निरन्तर औपनिवेशिक मानसिकताको रुपमा तयार पारिएको प्रचार सामग्री मात्रै हो ।’

यसैबीच भारत सरकारले बिबिसीबाट प्रशारित उक्त वृत्तचित्र प्रशारणमा भारतमा रोक लगाएको छ । सूचना तथा प्रशारण मन्त्रालयका सचिव अपूर्व चन्द्रले अस्ति शुक्रबारदेखि सूचना प्रविधि कानुन २०२१ बमोजिम सरकारको विशेष र अत्यावश्यक अधिकारको प्रयोगमा उक्त रोक लगाइएको बताए ।

टिप्पणीहरू