चीन जोड्ने सडक हिउँले अवरुद्ध

चीन जोड्ने सडक हिउँले अवरुद्ध

लामो समयको हिमपातपछि चीनसँगको सीमावर्ती क्षेत्र हुम्लाको सिमकोट–हिल्सा सडक अवरुद्ध भएको छ । सडकमा तीन फिटभन्दा बढी हिउँ जमेपछि यस सडकको यारी–हिल्सा खण्ड बन्द गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी सीता परियारले दुई दिन लगातारको हिमपातपछि उत्तरी सीमा क्षेत्र यारीदेखि हिल्सासम्मको सडकमा यातायात सेवा बन्द भएको बताइन् । गत असोज कात्तिकमा परेको हिउँ सडकमा जम्दा त्यस क्षेत्रको सडक बन्द हुँदै आएको थियो । तर, नाम्खा गाउँपालिकाले गत पुस १७ र १८ गते डोजर लगाएर हिउँ पन्छाएपछि साढे तीन महिनापछि सडक नियमित भएको थियो । 

दुई हप्ताजति सञ्चालन भएको यहाँको सडक हिउँले ढाकिएपछि यातायात सेवा पुनः बन्द भएको प्रमुख जिल्ला अधिकारी परियारले जानकारी दिईन् । ४ हजार ६ सय मिटर अग्लो स्थानमा रहेको नारा लेक क्षेत्रको सडक हिउँले सेताम्मे भएपछि यातायात सेवा अवरुद्ध भएको उनको भनाई छ । 

चीनले एकतर्फी नाका खुलाएपछि हिल्सामा व्यापारिक प्रयोजनका लागि खाद्यान्न, लत्ताकपडा र विकास निर्माणको सामान आयात भएको थियो । तर, हिमपातले सडक बन्द भएपछि ति सामान हिल्सामै रोकिएको छ । 

साथै, व्यापारी, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी, यारी नाका भन्सारका कर्मचारी र हिल्साका स्थानीयलाई समेत सडक बन्द भएपछि आउजाउमा समस्या परेको छ । अब सो क्षेत्रको हिमपात फेरि डोजरले नपन्छाएसम्म यातायात सेवा सञ्चालन हुने छैन ।

टिप्पणीहरू