सुर्खेतमा पनि टाइम कार्ड लागू

सुर्खेतमा पनि टाइम कार्ड लागू

जिल्ला प्रशासन कार्यालय, सुर्खेतले सेवाग्राहीलाई छिटो, छरितो र प्रभावकारी सेवा प्रवाह गर्न टाइम कार्ड लागू गरेको छ । प्रशासन कार्यालयले आजदेखि टाइम कार्ड लागू गरेको जानकारी दिएको छ ।

प्रशासकीय अधिकृत पदमलाल लामिछानेका अनुसार जिल्ला कार्यालयले सेवा प्रवाह गर्ने क्रममा सेवाग्राहीको गुनासो नरहने गरी टाइम कार्ड लागू गरिएको जानकारी गराए । ‘सेवा लिन आएका सेवाग्राहीलाई सेवाका आधारमा टाइम कार्डको व्यवस्था गरिएको छ,’ उनले भने,‘जसले गर्दा उनीहरुले उक्त समयमा अन्य काम पनि भ्याउन सक्छन् ।’ 

प्रशासनले नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राहदानी, प्रशासन शाखाबाट दिइने विभिन्न सेवा, हातहतियार नवीकरण र राष्ट्रिय परिचयपत्र वितरणमा सहजता ल्याउन गृह मन्त्रालयको निर्देशनबमोजिम टाइम कार्ड लागू गरिएको जनाएको छ । अबदेखि राहदानीको निम्ति सबै कागजात पेश गरेको अवस्थामा एक घण्टा, विभागबाट प्रिण्ट भएर आइसकेको राहदानीका लागि १५ मीनेट र अन्य सिफारिस, नागरिकता, नाबालक परिचयपत्रलगायतमा सबै प्रक्रिया पूरा भएपछि बढीमा एक घण्टाभित्र सेवा प्राप्त गर्न सकिने छ ।

टिप्पणीहरू