सशस्त्रको २२ औं दिवसमा अचम्मको संयोग,मार्ने मान्य फरार,मर्ने आज बल्ल सम्मानित

सशस्त्रको २२ औं दिवसमा अचम्मको संयोग,मार्ने मान्य फरार,मर्ने आज बल्ल सम्मानित

सशस्त्र प्रहरी बल नेपालले आज आफ्नो स्थापनाको २२ औं वार्षिकोत्सव मनाउँदै छ । बलको मुख्यालय स्वयम्भू,हलचोकमा अपरान्ह ४ बजे विशेष कार्यक्रमको आयोजना गरिँदैछ । कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विशेष अतिथि गृहमन्त्री रवि लामिछानेलाई बनाइएको छ । 

प्रधानमन्त्री कार्यक्रमस्थलमा सवा ४ बजे पुग्ने तालिका छ । तर, स्थापनाको २२ वर्षमा आइपुग्दा सशस्त्र र माओवादी अध्यक्ष प्रचण्डबीच अचम्मको संयोग मिल्न गएको छ । २०५२ फागुन १ गतेबाट सशस्त्र आन्दोलन थालेको माओवादीका गतिविधिलाई नियन्त्रणमा लिन राज्यले सेना र नेपाल प्रहरीभन्दा फरक ढंगको सुरक्षा बल स्थापना गर्ने क्रममा सशस्त्रको जन्म भएको हो । माओवादी हिंसात्मक आन्दोलन शुरु भएको ७ वर्षपछि सशस्त्र प्रहरी बलको स्थापना भयो ।

त्यतिबेलाका माओवादी अध्यक्ष प्रचण्ड अहिले प्रधानमन्त्री र पार्टी अध्यक्ष हुनुहुन्छ । आज उहाँ र उहाँको तत्कालीन आन्दोलनलाई निस्तेज पार्न गठित संस्थाले मनाउन लागेको वार्षिक कार्यक्रमको प्रमुख अतिथि स्वयम दाहाललाई बनाइएको छ ।

त्यसैगरी आजैको कार्यक्रममा सशस्त्र प्रहरीका तत्कालीन असई स्वर्गीय थमन बिकलाई मरणोपरान्त सम्मान गरिँदैछ । उक्त सम्मान बिकको परिवारलाई हस्तान्तरण गर्ने कार्यक्रम छ । थमन बिक उनै हुन् जसलाई घाइते अवस्थामा एम्बुलेन्सबाट थुतेर मारेको अभियोगमा एमाले सांसद लक्ष्मी महतो कोइरीलाई अदालतले कैदको आदेश दिएको छ । संसदमा उपस्थित भएर शपथ लिएका, मतदानमा सहभागी भएका कोइरीलाई फरार भन्दै प्रहरीले हालसम्म पक्रेको छैन । प्रहरीले आफ्नो मौखिक निर्देशन नटेरेको भन्दै कोइरीलाई पक्रन गृहमन्त्री रवि लामिछानेले लिखित आदेश दिएको विज्ञप्ति मन्त्रालयले गत शुक्रबार प्रकाशित गरेको छ ।

कोइरी महोत्तरी १ बाट निर्वाचित सांसद हुन् ।  २०७२ भदौ २५ गते मधेश आन्दोलनको क्रममा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका बिकलाई उपचारार्थ जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो  । उक्त घटनामा जिल्ला अदालत महोत्तरीले २०७६ असोज २ गते कोइरीलाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । 

तर जनकपुर उच्च अदालतले २०७७ मंसिर १९ गते जिल्लाको आदेश उल्ट्याउँदै कोइरीलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएपनि त्यसपछि उनी फरारको सूचीमा छन् । फरार भनिएकाले वारेशको तर्फबाट मनोनयन दर्ता गरेर चुनाव जिते । वारेशबाटै चुनावमा विजयी भएको प्रमाणपत्रसमेत बुझेका छन् ।

तर फरार रहेका भनिएका सांसदद्वारा हत्या गरिएका कोइरीको परिवारलाई प्रधानमन्त्री र गृहमन्त्रीको उपस्थितिमा सशस्त्र प्रहरीले आज सम्मान गर्नुलाई पनि अर्को संयोग ठानिएको छ ।

 

टिप्पणीहरू