डाक्टर रोक्न तलब बराबरको प्रोत्साहन भत्ता

डाक्टर रोक्न तलब बराबरको प्रोत्साहन भत्ता

गुल्मीमा अस्पतालमा कार्यरत डाक्टरलाई अन्यत्र जान नदिन नयाँ उपाय निकालिएको छ । रेसुङ्गा नगरपालिकाले तलब बराबरको प्रोत्साहन भत्ता दिने निर्णयपछि स्थानीय अस्पतालका डाक्टर अन्यत्र नजाने विश्वास लिएको छ ।

नगरपालिकाले नेपाल सरकारले उपलब्ध गराउने तलबबमोजिमको थप रकम प्रोत्साहन भत्ता वापत उपलब्ध गराउन थालेको बताइएको छ । पहाडी क्षेत्रका अस्पतालमा डाक्टरहरु लामो समय बस्न नमान्ने भएपछि नगरपालिकाले स्थानीयबासीलाई हाडजोर्नी विशेषज्ञ सेवा प्रदान गर्न सम्बन्धित डाक्टरलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन थालेको हो । 

नगरप्रमुख खिलध्वज पन्थीले पहाडी क्षेत्रका अस्पतालमा विशेषज्ञ डक्टरहरु आउन नमान्ने र आइहाले पनि लामो समय नबस्ने भएपछि नगरपालिकाले प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आवश्यक उपकरणसमेत खरिद गरेको जानकारी दिए । हाल गुल्मी अस्पतालमा हाडजोर्नी विशेषज्ञ डाक्टर प्रदीप सिवाकोटीको टोलीले सेवा प्रदान गरिरहेको छ ।

हाडजोर्नी उपचारको निम्ति आवश्यक सी–आरएम मेसिन नगरपालिकाले खरिद गरेको छ । हाल अस्पतालमा अर्का एक जना डाक्टर पनि थपिएका छन् । स्त्रीरोग विशेषज्ञको अभावमा स्थानीय महिलाले स्त्रीरोग सम्बन्धी सेवाको निम्ति पाल्पा, बुटबल धाउनुपर्ने बाध्यता पनि हटेको बताइन्छ । 

स्त्रीरोग विशेषज्ञ डा.सोफिया थापाको बहालीपछि उक्त समस्या टरेको नगर प्रमुख पन्थीले जानकारी दिए । डाक्टरहरुको मनोबललाई थप हौसला प्रदान गर्न नगरपालिकाले गुल्मी अस्पतालका स्त्रीरोग विशेषज्ञ डा.सोफिया थापा र डा.नरमा छन्त्यालको सम्मानसमेत गरेको छ । 

पन्थीले अब केही दिनमै गुल्मी अस्पतालबाट मिर्गौला पीडितहरुको डाइलाइसिस सेवा पनि सुचारु हुने बताए । नगरपालिकाको पछिल्लो निर्णयप्रति अधिकांश स्थानीय देखिएका हुन् ।

 

टिप्पणीहरू