ब्यक्तिले गति छाडे,अब अदालतको अग्नि परीक्षा

ब्यक्तिले गति छाडे,अब अदालतको अग्नि परीक्षा

गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा दायर रिटउपर भोलि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई हुँदैछ । कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासको गत पुस २२ गतेको आदेशअनुसार बुधवार सुनुवाई हुन लागेको हो । 

लामिछानेको सांसद पद खारेजीको माग गर्दै दर्ता भएको रिटमा निवेदकको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको सर्वोच्चले ७ दिनभित्र सबै कागजात झिकाई माघ ११ गते यस प्रकरणलाई टुङ्ग्याउने गरी अग्राधिकार दिएको थियो । त्यसदिन पेशी सार्न नपाउने आदेशसमेत गरेकाले बुधवार सुनुवाई हुने निश्चित छ । पेशीको मिति नजिकिएसँगै बहुप्रतिक्षित यो मुद्धा कसरी किनारा लाग्ला भन्नेबारे कानुनी वृत्तमा बहससमेत हुन थालेका छन् ।

गृहमन्त्री लामिछानेमाथि अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनर्प्राप्तिको प्रक्रिया पूरा नगरी पुरानै नागरिकता प्रयोग गरेको अभियोग छ । कानुनत: विदेशको नागरिकता लिएपछि नेपाली नागरिकता स्वत: बदर हुन्छ । र,पुन: नेपालमा नागरिकता लिन चाहे निश्चित कानुनी शर्त र प्रक्रिया अपनाउनुपर्ने हुन्छ । तर,गृहमन्त्री लामिछानेले त्यस्तो प्रक्रिया पूरा नगरी पुरानै नागरिकता राखेर प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयन गरेको र निर्वाचन आयोगमा दल दर्ता गरेको दावी गरिएको छ । 

सर्वोच्चको संवैधानिक इजलासले चार वर्षअघि नै विदेशी नागरिकता लिएको व्यक्तिले औपचारिक रुपमा उताको नागरिकता त्यागेर नेपाली नागरिकता पुनर्प्राप्तिको प्रक्रिया पूरा नगरेसम्म उसको नेपाली नागरिकको हैसियत नरहने फैसला गरेको थियो । संवैधानिक इजलासका फैसलाहरु कानुनसरह हुने भएकाले लामिछानेविरुद्धको यो मुद्दा पनि त्यसैगरी छिनोफानो हुनुपर्ने हो । तर, अहिलेको सत्ता समीकरणका मुख्य खेलाडी,देशको शक्तिशाली गृहमन्त्रीविरुद्धको मुद्धा भएकाले यसमा संलग्न सरकारी निकायहरुको भूमिका र श्रीमानहरुको निष्पक्षता कस्तो रहन्छ त्यसैका आधारमा यो प्रकरण  टुंगो लाग्ने देखिन्छ । 

कतिपय जानकारहरुका अनुसार यो मुद्धामा अन्तरिम आदेश दिने प्रशस्त कानुनी आधारहरु थियो । तर, अदालतले लिखित जवाफ मात्र मागेकाले 'स्वार्थको द्वन्द्व' बाझिएको र कन्फर्म प्रधान न्यायाधीश नबन्दासम्म कामुले आँट नगरेको आशंका गर्नेलाई बल पुर्याएको छ । 

साथै अदालतले मागेको यससम्बन्धी निर्णयहरु र पत्राचारका सक्कल कागजात,बहस नोट र विपक्षीको लिखित जवाफ कुन रुपमा पेश गरिन्छ त्यसले पनि अर्थ राख्ने कानुनी जानकारहरुको अनुमान छ । किनभने मुद्धाका विपक्षी आफैँ नागरिकता छानविन गर्ने मुख्य अख्तियारी लिएको गृहमन्त्रालयको नेतृत्वमा रहेकाले यसका सरोकारवालाहरुको भूमिका निष्पक्ष हुनेमा विश्वस्त हुने अवस्था छैन ।

 

यसअघि लामिछानेको नागरिकतासम्बन्धी विवादमा जिम्मेवारीपूर्वक,पछिसम्मलाई असर नपर्ने गरी गहन अनुसन्धान गर्नु भनेर प्रहरीलाई पत्र लेखेका काठमाडौँका प्रमुख जिल्ला अधिकारीले पछिल्लो समय यो छानविन गर्नुपर्ने र सरोकारको विषय नै नभएको जवाफ दिएका थिए भने गृहमन्त्री नियुक्त भैसकेको हुँदा काठमाण्डौ प्रहरीले यस प्रकरणमा एक दिन पनि रविलाई बोलाएर बयान लिएन ! अभियुक्तको वयान बिना मुध्दा जिल्ला अदालतमा अभियोजन हुने कुरै भएन । राज्यका निकायहरु सत्ताको प्रभावमा कस्तरी ङ्याकिन्छन् भन्ने यो बलियो उदाहरण हो । 

तथापि लामिछाने स्वयंले नागरिकता पुनर्प्राप्तिको प्रक्रिया पूरा नगरेको सार्वजनिकरुपमै स्वीकार गरेकाले यो मुद्धामा अदालतको सम्भावित ब्याख्या आमचासोको विषय बनेको छ । नागरिकता आफैँमा संवेदनशील विषय हो । अझ हाम्रोजस्तो भूराजनीतिक अवस्थितिमा रहेको मुलुकका लागि त झन् धेरै संवेदनशील हुनुपर्छ । विगतमा टीभी कार्यक्रम प्रस्तोता हुँदा लामिछानेले पनि नागरिकताको संवेदनशीलताबारे राजनीतिक नेतृत्वमाथि प्रश्न उठाउने गरेका थिए । न्यायपालिकाको स्वतन्त्रताप्रति पनि उनको चिन्ता व्यक्त हुन्थ्यो ।   

सुशासन र राजनीतिक शुद्धीकरणको चर्को नारा उरालेर राजनीतिमा आएका लामिछाने अहिले विगतमा आफूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने ठाउँमा छन् । स्वार्थ बाझिने गरी गृहमन्त्री भएका उनीलाई प्रश्न छ - अदालतलाई कार्यकारीको 'रबर स्ट्याम्प' बनाएर स्वतन्त्र न्यायालयको हुर्मत लिने कि आफूविरुद्धको मुद्दालाई सहजरुपमा टुंग्याउन सहयोगी बन्ने ? माघ ११ मा अदालतले जे निर्णय गरेपनि बजारमा उब्जिएका यस्ता चासो,चिन्ता र प्रश्नको जवाफ पनि क्रमश: बाहिर ल्याउनेछ ।

टिप्पणीहरू