सशस्त्रको वार्षिकोत्सवसँगै झण्डै हजार जनाको बढुवा

सशस्त्रको वार्षिकोत्सवसँगै झण्डै हजार जनाको बढुवा

सशस्त्र प्रहरी बल नेपालले हिजो आफ्नो स्थापनाको २२ औं वार्षिकोत्सव मनाएको छ । सोही क्रममा उसले झण्डै एक हजार जनाको बढुवाको प्रक्रिया थालनी गरेको बताइएको छ । तीमध्ये १६ जनाको बढुवा भइसकेको छ ।

हिजो प्रक्रिया शुरु भएकामध्ये साधारण समूहको साधारण उपसमूहतर्फ १५२ जना सशस्त्र प्रहरी वरिष्ठ हवल्दारलाई सहायक निरीक्षक पदमा ज्येष्ठताअनुसार बढुवाको लागि सिफारिस गरिएको छ । त्यसैगरी सोही समूह र उपसमूहका ८०७ जना कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ हवल्दारलाई कायममुकायम पदको ज्येष्ठता कायम गरेर सशस्त्र प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवाको निम्ति सिफारिस गरिएको छ ।

त्यसैगरी प्राविधिक समूह, सञ्चार तथा इञ्जिनियरिङ्गतर्फ तीन जना कायम मुकायम प्राविधिक सशस्त्र प्रहरी हवल्दारलाई कायममुकायम पदको जेष्ठता कायम राखेर प्राविधिक सशस्त्र प्रहरी हवल्दारमा बढुवाको निम्ति सिफारिस गरिएको छ ।

सशस्त्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खेलकुद विधामा उत्कृष्ट कार्य गरेकाको पनि बढुवा गर्न लागेको छ । सशस्त्र प्रहरी संगठनको छवि उच्च राख्न विशेष योगदान पुर्याएका १६ जना सशस्त्र प्रहरी जवानलाई सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा गरिएको छ ।

टिप्पणीहरू