नोटको माला भिर्दा एमाले नेताहरुवीच बाझाबाझ

नोटको माला भिर्दा एमाले नेताहरुवीच बाझाबाझ

एमाले सांसद सूर्य थापा फरक राजनीतिक आस्था राख्नेहरुमाथि खरो टिप्पणी गर्ने गर्छन् । केपी ओली अघिल्लोचोटी प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहेका उनी 'छुद्र' टिप्पणी गरेकै कारण विवाद र चर्चामा रहिरहे । त्यतिबेला एमालेकै विपक्षी खेमामा रहेका उपाध्यक्ष भीम रावलसँग त उनको दैनिकजसो सञ्जालमा बाझाबाझ चलिरहन्थ्यो । 

फरक पार्टी र विचार स्वीकार्न नसक्ने स्वभावका थापा आफ्नै पार्टीका नेतामाथि पनि असहिष्णु देखिन थालेका छन् । आज फेसबुकमा आफूले पोष्ट गरेको एउटा फोटोमा कमेन्ट लेखेका राष्ट्रियसभाका पूर्वसांसद खिमलाल भट्टराईमाथि उनी खनिएका छन् । प्युठानबाट सांसद जितेका थापाले आज फेसबुकमा पैसासहितको माला लगाएको फोटो हाले । त्यसप्रति भट्टराईको कमेन्ट आयो, 'के हो यो ?'

पैसाको माला लगाएर तडकभडक देखाएकोप्रति भट्टराईले कमेन्टमा असन्तुष्टी देखाएको बुझेका थापा आफ्नो स्वभावमा आइहाले । जवाफ दिँदै लेखे, 'चुनाव लडेर जनताबाट डाइरेक्ट चुनिएको/जितेको भा" थाहा पाउनुहुन्थ्यो राष्ट्रियसभामा भूतपूर्व विपक्षी नेताज्यू !'

भट्टराईले भने थापालाई शालिन जवाफ फर्काएका छन् । चुनाव लड्ने र जित्नेले मात्र जनताको माया पाएको नहुने उनको भनाई छ । 'जनताको माया पाउने चुनाव लड्ने र जित्नेले मात्र होइन है कमरेड ! तपाईंले जितेको र माला लगाएकोमा म फेरि असाध्यै खुशी छु', उनको जवाफ छ । भट्टराई राष्ट्रियसभाका पूर्वसांसद हुन् । मङ्सिर ४ को निर्वाचनमा प्रतिनिधिसभामा उम्मेदवारी दिन राजीनामा दिएका उनको टिकट अन्तिम समयमा फिर्ता भएको थियो । 

अरुलाई प्रत्यक्ष चुनाव जितेर आउन चुनौती दिने थापा आफैं सांसदका रुपमा नयाँ हुन् । यसअघि उनीमाथि भूगोलमा कामै नगरी नेतालाई खुशी तुल्याएकै भरमा पार्टीको जिम्मेवारी र लाभका पदमा अवसर पाएको भन्दै एमालेभित्रै आलोचना हुने गर्थ्यो ।
 

टिप्पणीहरू