गुल्मी जाने सडक दैनिक १२ घण्टा बन्द

गुल्मी जाने सडक दैनिक १२ घण्टा बन्द

पाल्पा–गुल्मी सडकखण्ड आजदेखि दैनिक १२ घण्टा बन्द हुने भएको छ । बर्तुङ्–रिडी–तम्घास सडकअन्तर्गत मालमुल–जीर्ते सडकखण्डमा स्तरोन्नतिको काम भइरहेकाले आजदेखि एक महिनासम्म सडक बन्द गरिएको बताइएको छ । 

सडक चौडा गर्नेलगायत मर्मत सम्भारका काम गर्नुपर्ने भएकाले फागुन ९ गतेसम्म दैनिक १२ घण्टा सवारी आवागमन बन्द गर्न लागिएको सडक डिभिजन, पाल्पाले जनाएको छ । 

डिभिजनले निर्माण कम्पनी श्री अधिकारी र कार्की जेभीलाई पत्राचार गर्दै दैनिक निर्माण कार्यपश्चात् सवारी साधन ओहोरदोहोरमा बाधा उत्पन्न नहुने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

‘निर्माण व्यवसायीहरुले निर्माण कार्यपश्चात् सवारी साधन खोल्नु अगाडि सडकमा भएको ढुंगा, माटो छेउ लगाई सवारी साधन आवागमनमा बाधा उत्पन्न नहुने व्यवस्था मिलाई निर्माण कार्य गर्नुहुन अनुरोध छ’, पत्रमा भनिएको छ । 

सडक बिहान ५ बजेदेखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ४ बजेसम्म र साँझ ६ बजेदेखि राति १० बजेसम्म सडक बन्द हुने जनाइएको छ ।

टिप्पणीहरू