गणतन्त्र र संघीयताविरुद्ध बोल्ने मन्त्रीलाई प्रधानमन्त्रीले स्पष्टीकरण सोध्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र र संघीयताविरुद्ध अभिव्यक्ति दिने मन्त्रीमाथि स्पष्टीकरण सोधिने बताउनुभएको छ । 

आज बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै उहाँले आफ्नो क्याविनेटमा रहेका कुनैपनि मन्त्रीलाई संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध बोल्न छुट नहुने प्रष्ट पार्नुभयो । कानुनी र नैतिक दुबै हिसाबले पनि क्याविनेट सदस्यले संविधानविरोधी धारणा राख्न नहुने प्रधानमन्त्रीको भनाई छ । 

'मेरो क्याबिनेटको एकजना मन्त्रीले संघीयता खारेज गर्नुपर्छ भन्नुभयो भनेर यहाँ सुनाउनु भयो माननीय सदस्यले,’ बैठकमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘मेरो ध्यानाकर्षण भएको छ । मन्त्रिमण्डल बाहिर गएर आफ्नो कुरा राख्ने अधिकार सबै राजनीतिक दललाई  हुन्छ । तर, मन्त्रिमण्डलभित्र बसेर संघीयता र लोकतान्त्रिक गणतन्त्रविरुद्ध बोल्ने वा प्रचार गर्ने अधिकार नैतिकरुपले र कानुनी रुपले पनि हुन सक्दैन ।’ 

प्रचण्ड नेतृत्वको सरकारमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन उपप्रधानसहित उर्जा मन्त्री छन् । उनको पार्टी गणतन्त्र र संघियताको विपक्षमा छ । त्यस्तै संघीयता चाहिंदैन भनेर प्रदेशमा चुनाव नलडेको रास्वपाका सभापति रवी लामिछाने पनि उपप्रधान तथा गृहमन्त्री छन् ।
 

टिप्पणीहरू